काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई पैसा बाँडेको आरोप लागेको छ । जनकपुरधाममा मत प्रभावित गर्न पैसा बाँडेको आरोप लागेपछि एमाले कार्यकर्ता तथा समर्थकरुले नाराबाजी गरेका थिए ।
मुस्लिम आयोगका अध्यक्ष अन्सारी जनकपुरधामको सीता शरण होटेलको ३०५ नम्बरको कोठामा बस्नुभएको थियो । उहाँले उक्त होटलमा बोलाएर पैसा बाँडेर मत प्रभावित पार्न खोजेको आरोप लगाउँदै केही ब्यक्तिहरूको समुहले नाराबाजी तथा विरोध प्रदर्शन गरेका थिए । नाराबाजी गर्ने समुह नेकपा एमालेका समर्थक रहेको बताइएको छ ।
सशस्त्र प्रहरीका मधेस प्रदेश प्रमुख डिआइजी गणेश ठाडामगरले अन्सारीलाई सुरक्षा दिँदै जनकपुरधाम विमानस्थल पुर्याइएको जानकारी दिनुभयो । अन्सारीलाई पैसा बाँडेको आरोप लागे पनि उहाँसँग पैसा बरामद नभएको डिआइजी ठाडामगरले बताउनुभयो ।
त्यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मिडियामा आएजसरी पैसा बाँड्दै गर्दा पक्राउ परेको समाचार गलत भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले पैसा बाँडेर मत प्रभावित गरेको प्रमाण नभेटिएको बताउँदै सुरक्षाकर्मीको सहयोगमा उहाँलाई काठमाडौं पठाइएको बताउनुभयो ।
जनकपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका जानकीराम साहलाई जिताउन पैसा बाँडेको आरोप लागेको हो । साह केही दिनअघि मात्रै लोकतान्त्रिक समाजवादी पार्टीबाट एमालेमा प्रवेश गर्नुभएको थियो । एमालेबाट टिकट नपाएपछि साहले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।
मुस्लिम आयोगका अध्यक्ष अन्सारीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले ०७५ सालमा मुस्लिम आयोगको अध्यक्ष नियुक्त गरेको थियो । उहाँविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको उजुरी संसदीय समितिमा परेको थियो । उजुरीको टुंगो नलाग्दा अन्सारीको नियुक्ति सदर भएको थियो ।