बलेवा । बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक दुरबिन प्रयोग गरी शल्यक्रिया गरिएको छ ।
दुरबिनको प्रयोगबाट बागलुङ नगरपालिका–१२ अमलाचौरकी २९ वर्षीया महिलाको अण्डासयमा जमेको पानी निकालिएको हो ।
अस्पतालका चिकित्सक केशव आचार्य नेतृत्वको समूहले उक्त शल्याक्रिया गरेको हो । पहिलो प्रयास नै सफल भएपछि अब दुरबिनद्वारा शल्यक्रिया गर्ने काममा हौसला मिल्ले डा आचार्यले बताउनुभयो ।
शल्यक्रिया गराएकी महिलाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । “दुरबिनको प्रयोग गरेर शल्यक्रिया गर्दा पेटमा ठूलो घाउ पार्नु पर्दैन”, उहाँले भन्नुभयोे, “यसबाट बिरामी छिट्टै निको हुने, घाउ पाक्ने जोखिम पनि कम हुने र समयका हिसाबले पनि छिटोछरितो हुने हुन्छ ।”
शल्यक्रियामा डा केशव आचार्य, डा सजिन कुँवर, डा प्रज्ज्वल पौडेल, डा गणेश वन र नर्स शर्मिला शर्माको समूह सहभागी थियो ।
“हामी ढुक्क भएर काम गरेका थियौँ, बिरामी जोखिममा थिएन्”, डा. आचार्यले भन्नुभयो, “नयाँ प्रविधि भएकाले यो पहिलो प्रयास जोखिमपूर्ण हुने नै भयो ।” यसकोे सुरुआतसँगै समान्य र जटिल सबै खालका शल्यक्रियामा सहयोगी बन्ने उहाँले बताउनुभयो ।
धौलागिरि अस्पतालबाटै यो सेवा सुरु भएकाले बागलुङ, पर्वत, म्याग्दीका बिरामीलाई अब पोखरा काठमाडौँ जाने झन्झट कम हुने भएको छ ।