नुवाकोट । नुवाकोट कारागारमा कैदीबन्दीलाई दिइएको दुई महिने सीपमूलक तालीम सम्पन्न भएको छ ।
चालु आर्थिक वर्षको स्वीकृत वार्षिक सीपमूलक कार्यक्रम अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटको आयोजना तथा कारागार कार्यालय नुवाकोटको स-आयोजनामा कैदीबन्दीलाई ढाका बुनाई सम्बन्धि दुई महिने तालिम सम्पन्न भएको हो ।
गत चैत्र ६ गते बाट संचालित उक्त कार्यक्रममा कारागारमा रहेका १५ जना कैदी बन्दीले ढाका बुनाई सम्बन्धि तालीम लिएका छन । उक्त तालीममा नेपाली ढाका बुनाईका सम्बन्धमा प्रशिक्षण दिइएको थियो ।
२०७९ जेष्ट १८ गते सम्पन्न उक्त कार्यक्रम कारागार कार्यालय नुवाकोटका कार्यालय प्रमुख गंगालाल योगीको अध्यक्षतामा भएको थियो ।
साथै उक्त समापन समारोहका प्रमुख अतिथि घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटका प्रमुख राम प्रसाद भूसाल रहनु भएको थियो ।
समापन कार्यक्रममा मुख्य प्रशिक्षक देवकी धमला, कारागार सुरक्षा प्रमुख एवं अन्य कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।
समापन समारोहमा सहभागीहरुले प्राप्त शिपको उपयोग हुने वातावरण र उत्पादित सामानको बजारीकरणका लागि आग्रह गर्नुभएको छ ।
सोहि क्रममा आफ्नो मन्तब्य दिँदै प्रमुख अतिथि राम प्रसाद भुसालले कैदीबन्दीको मागलाई ध्यानमा राखी उत्पादित सामाग्रीको बजार व्यवस्थापन र थप विशिष्टिकृत ढाका बुनाई प्रशिक्षणका लागि आगामी दिनमा पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
आफ्नो मन्तव्यका क्रममा प्रशिक्षक देवकी धमलाले कारागारमा रहेका कैदीबन्दीलाई तालिम दिन पाएकोमा खुशी प्रकट गर्दै आगामी दिनमा समेत तालिमका लागि कारागारलाई महत्व दिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
कार्यक्रमका अध्यक्ष कारागार प्रमुख गंगालाल योगीले प्राप्त सीप र ज्ञानको निरन्तर उपयोग गरि भोलिका दिनमा जीविकोपार्जनका रुपमा लिन सल्लाह दिनुभएको छ ।
साथै स्वदेशी उद्यम र सीपको विकास गरि नेपाली अर्थतन्त्रलाई बलियो बनाउनका लागि यस्ता तालिम उपयोगी रहेको बताउनुभएको छ ।