काठमाडौँ । राजदरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ । राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको थियो ।
२०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन ।
उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो ।
उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।
हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो ।
तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।
तर त्यसलाई आम नेपाली जनताले विश्वास नगरेको अवस्था छ ।