फाइल तस्वीर
बर्दिया । बर्दियाको गणेश सिसनिया सामुदायिक वनबाट मान्छे खाने नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ ।
उक्त बाघलाई डार्ट गरि खाता जैविक मार्गको गणेश सिसनिया सामुदायिक वनबाट नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख डिभिजनल वन अधिकृत प्रवीण बिडारीले बताउनुभयो ।
डिभिजन वन कार्यालय बर्दियाको सहयोगमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले उक्त पोथी पाटे बाघलाई बिहिबार साँझ नियन्त्रणमा लिएको हो ।
डिभिजनल वन अधिकृत बिडारीले मान्छे खाने नरभक्षी बाघलाई क्यामेरा ट्र्यापिङ विधिबाट पहिचान गर्दै डार्ट गरेर नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
नेपाल कागजसँग कुरा गर्दै उहाँले भन्नुभयो, "करिब ६-७ दिन देखि हामिले मोनिटरिङ गरिरहेका थियौँ । क्यामेरा ट्र्यापिङ बिधिबाट पहिचान भएपछि बिहीवार साझ करिब ७:३० देखि ८ बजेको बिचमा प्राबिधिक टोलीले डार्ट गरेर नियन्त्रणमा लिएको हो ।"
डिभिजन वन कार्यालय बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त प्रयासमा उक्त नरभक्षी पाटे बाघ नियन्त्रणमा लिइएको हो ।
खाता जैविक मार्ग क्षेत्र डिभिजन वन कार्यालय अन्तर्गत पर्दछ ।
उक्त बाघलाई अहिले बर्दिया राष्ट्रिय निकुञ्जले आफ्नो नियन्त्रणमा राखेको छ ।
बर्दियाको मधुवन नगरपालिका -२ सोनाहा फाटामा दुई साताअघि बाघले आक्रमण गरेपछि स्थानीय कौशिका पालको मृत्यु भएको थियो । गत सोमबार मधुवन नगरपालिका -२ सोनाहा फाटाकी अस्मिता थारुलाई उक्त बाघले आक्रमण गरि घाइते बनाएको थियो ।
त्यसपछि मान्छे खाने बाघ नियन्त्रणमा लिनुपर्ने भन्दै स्थानीयले प्रदर्शन गर्दै चक्काजाम गरेका थिए ।
उक्त चक्काजाम खुलाउन गएको प्रहरी टोली र प्रदर्शनकारीबीच झडप हुँदा गोली लागि नवीना थारूको मृत्यु भएको थियो भने राकेस थारू घाइते हुनुभएको थियो । करिब १२ जना सुरक्षाकर्मी घाइते भएका थिए ।