बाँके । शमशेरगंज ट्राफिक प्रहरीले ट्याक्टर र यात्रुवाहक गाडीसँग पैसा असुल्ने गरेको भेटिएको छ ।
प्राय जसो उक्त ट्राफिक कार्यालयबाट खटिएका ट्राफिक प्रहरीहरु जंगलको बिचमा चेकिङमा बसेका हुन्छन ।
पुर्व पश्चिम राजमार्गको लमही कोहलपुर सडकखण्ड अन्तर्गत बाँकेको शमशेरगंजमा ट्राफिक प्रहरीहरुले आफ्नो कार्यालय अगाडी चेकजाँच नगरेर करिब २-३ किलोमिटर पर सुनसान जंगलमा सवारीसाधन रोकेर चेकजाँच गरिरहेको भेटिन्छन ।
उक्त चेकजाँचकै क्रममा ब्लुबुक लाइसेन्स लिएर निर्लज्ज मुद्रामा मोलमोलाइ गरिरहेको दृश्य सामान्य झैँ भैसकेको छ ।
नाम नखोल्ने शर्तमा एक हायस गाडीका सहचालकले भने, "फिक्स रेट छ, हायसको ५०-१०० रुपैयाँ हो । ठूलो गाडीको १०० देखि २०० हो । यात्रु कम छन भने कममा पनि मान्छन । तर पैसा दिएरै जानुपर्छ नत्र कुनै न कुनै बहानामा लाइसेन्स ब्लुबुक राखिदिन्छन । गाडी रोकेर राखिदिन्छन । बाध्यताले रकम बुझाउनुपर्छ ।"
स्रोतका अनुसार शमशेरगंज ट्राफिक प्रहरीको सबैभन्दा ठूलो आम्दानिको स्रोत भनेको खोलाबाट बालुवा, ढुंगा बोकेका ट्याक्टरबाट गरिने अबैध असुली हो ।
खोलाबाट बालुवा, ढुंगा बोकेका ट्याक्टरहरुले दिने रकममा भने भिन्नता छ । कुनै ठेकेदारले मासिक वा हफ्तामा प्रहरी कार्यालयमै ल्याएर एकमुष्ट रकम बुझाउने गर्छन भने कसैले फिल्डमै प्रत्यक ट्याक्टरको १०० देखी ३०० सम्मको रकम दिने गर्छन । प्राय अबैध असुलीमा एकमुष्ट रकम लिने गरिन्छ ।
उक्त अबैध असुलीबाट आएको रकम ट्राफिक प्रहरीहरुका हाकिमहरुसम्म 'नजराना' स्वरुप तल देखि माथी सम्म पुग्ने गर्छ ।
शमशेरगंज ट्राफिक प्रहरीको इन्चार्जको रुपमा प्रहरी नायव निरिक्षक (सइ) होम बहादुर अधिकारी कार्यरत छन ।
उनकै कमाण्डमा खटिएका ट्राफिक प्रहरीहरु जंगलको कुनाकाप्चामा बसेर ड्युटी गरिरहेको अहिले पनी भेटिन्छन ।