काठमाडौँ । अनिश्चितकालका लागि आन्तरिक उडान बन्द गर्ने घोषणाबाट वायुसेवा सञ्चालकहरू पछाडि हटेका छन् ।
आन्तरिक उडान बन्द गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको चेतावनी सरकारले दिएको थियो ।
आन्तरिक उडान बन्द गर्ने घोषणाबाट पछाडि हट्दै एयरलाइन्स कम्पनीले उडान नियमितरूपमा सञ्चालन गर्ने भएका छन ।
एयरलाइन्स कम्पनीहरुले आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका थिए ।
आन्तरिक उडानका एयरलाइन्सले आज बिहानैदेखि उडान सञ्चालन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बिहानैदेखि नियमित उडान भइरहेको जानकारी दिनुभयो ।
सरकार र वायुसेवा सञ्चालक सङ्घबीच गए राति भएको वार्तापछि आन्तरिक उडान नियमित हुने भएको हो ।
प्रधानमन्त्री कार्यालयको पहलमा गृह मन्त्रालय, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितका उच्च पदाधिकारी र सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापालगायतको वायुसेवा सञ्चालकहरूको टोलीबीच गए राति वार्ता भएको थियो ।
प्राधिकरणले असार ५ गते गरेको निर्णय फिर्तालिनुपर्ने माग गर्दै वायुसेवा सञ्चालक सङ्घले पत्रकार सम्मेलन गरेर उडान बन्द गर्ने चेतावनी दिएको थियो ।
लगत्तै प्राधिकरणले पत्रकार सम्मेलन गरेर अत्यावश्यक हवाई सेवा बन्द नगर्न चेतावनी दिँदै उडान बन्द गरे कारबाही प्रक्रिया अगाडी बढाउने चेतावनी दिएको थियो ।