काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले प्रतिपक्षसँग संवादहीनताको स्थिति सिर्जना गरेको आरोप लगाउनुभएको छ ।
नेपालको परराष्ट्र नीति र राष्ट्रिय एकताका विषयमा ०४६ सालपछिकै धेरै संवादहीनताको स्थिति देखा परेको र यस्तो कार्यशैली धेरै गम्भीर चिन्ताको विषय बनेको ओलीको भनाइ छ ।
पूर्वराजदूत समूहहरूसँगको अन्तरक्रियामा ओलीले राष्ट्रिय शक्तिहरूबीच वैदेशिक नीतिका सम्बन्धमा बलियो राष्ट्रिय एकताको आवश्यकता देखिए पनि अहिलेको गठबन्धन सरकारले एकतालाई निषेध गर्ने नीति लिएको ओलीले आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो ‘हामीले स्वस्थ प्रतिस्पर्धासहितको बहुदलीय शासन प्रणाली ल्यायौँ, निषेध गर्ने नीति होइन । तर, अहिले राष्ट्रिय शक्तिहरूबीच ०४६ सालपछिकै संवादहीनाको स्थिति देखिएको छ,’ ओलीले भने, ‘अहिले सरकारले सबै कुरा गोप्य राख्ने र प्रतिपक्षविरुद्ध लाग्ने गरेको छ । यो लोकतान्त्रिक व्यवहार हुनै सक्दैन । दुःखको कुरा गठबन्धन सरकार आएपछि संवाद बन्द छ ।’
प्रधानमन्त्री विदेश भ्रमणमा जाने तय भएपछि प्रतिपक्षसँग संवाद गर्ने, विज्ञसँग छलफल गर्ने, भ्रमणको उद्देश्य प्रस्ट्याउने, के गर्ने या नगर्ने सुझाव लिने अभ्यास र परम्परालाई पनि गठबन्धन सरकारले तोडेको ओलीको आरोप छ ।
उहाँले नेपालले छिमेक सम्बन्धमा एकले अर्कालाई कार्डका रूपमा प्रयोग गर्ने वैदेशिक नीति अवलम्बन गर्न नहुनेमा जोड दिनुभयो ।
छिमेकी सम्बन्धमा नेपालले कार्ड प्रयोग गर्न थाले आफैँ गम्भीर समस्यामा फस्ने उहाँको भनाइ छ ।