नुवाकोट । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जिल्ला स्थित कारागारमा रहेका कैदी बन्दीका लागि तीन दिने योग साधनाको कार्यक्रम संचालन गरिएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, नुवाकोटको आयोजना तथा कारागार कार्यालय नुवाकोटको सहआयोजनामा उक्त कार्यक्रम असार १० गते सम्म संचालन हुनेछ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नुवाकोटका प्रमुख डा.रोजिना ताम्राकारले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने प्रमुख अतिथि नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल हुनुहुन्थ्यो ।
कार्यक्रममा आफ्नो स्वागत मन्तब्य राख्दै कारागार कार्यालय नुवाकोटका प्रमुख गंगालाल योगीले कारागारमा मानसिक रोगीको संख्या दिन प्रतिदिन बढ्दै गैरहेको सन्दर्भमा हाल संचालित योग अभ्यास शिविरले कारागारमा रहेका कैदी बन्दीको शारीरिक र मानसिक स्वास्थ्यमा सहयोग पुग्ने धारणा राख्नु भएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले कारागारको सिमित क्षेत्रफलमा रहनु पर्ने कैदी बन्दीका लागि योग साधना अत्यन्त सान्दर्भिक रहने तथा शारीरिक र मानसिक स्वास्थ्यलाई सुदृढ गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नु भएको थियो ।
उद्घाटन सत्रको पहिलो चरणको कार्यक्रमको समापन गर्दै सभाका अध्यक्ष डा.रोजनी ताम्राकारले योग शिविरबाट भरपुर लाभ लिन आग्रह गर्नु भएको थियो ।
तिन दिन सम्म संचालन हुने उक्त योग अभ्यास शिविर कार्यक्रमकका योग प्रशिक्षक जाफर दिन मिया रहनु भएको छ ।
यसै गरि अन्तर्राष्ट्रिय योग दिवसकै अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नुवाकोटको आयोजनामा असार ७ गते देवीघाट स्थित श्री जगत जंग शाह माध्यमिक बिद्यालयमा बृहत योग अभ्यास कार्यक्रम सम्पन्न गरि सोहि स्थानमा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई फलफुल वितरण गरिएको थियो ।
संयुक्त राष्ट्र संघले हरेक बर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउदै आएको छ भने नेपालभर विभिन्न कार्यक्रम गरि योग दिवस मनाइएको छ ।