जनकपुर । करिब ६ सय धार्मिक पर्यटक बोकेर भारतको रामायाण सर्किट रेल बिहीबार अपरान्ह जनकपुरधाम आइपुगेको छ ।
जनकपुरस्थित रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई स्वागत गर्नुभयो ।
धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर आइपुगेको यो नै पहिलो रेल हो ।
दिउँसो १ः३० मिनेटमा जनकपुरधामको रेल्वे स्टेसनमा पुगेको हो ।
भारती पर्यटकहरूलाई मधेस प्रदेशको मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाको मेयर मनोज साह र जानकी मन्दिरका सह महन्त रामरोशन दास लगायतले स्टेशनमा तीर्थ यात्रीलाई गम्छा, फूलमाला लगाएर स्वागत गरेका थिए ।
मंगलबार भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले संयुक्तरुपमा नयाँ दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाएर उद्घाटन गरेपछि रेल जनकपुरधामको लागि प्रस्थान गरेको थियो ।
यात्रीहरु ६ बजे महागंगा आरतीमा सहभागी हुने जनाइएको छ ।
गंगा आरती सम्पन्न भएपछि त्यहाँबाट उनीहरु जानकी मन्दिर पुग्ने छन् । जानकी मन्दिरको प्रांगणमा साँझ मिथिलाको कला संस्कृति झल्किने रात्री सांस्कृतिक कार्यक्रम आयोजन गरिएको छ ।
शुक्रबार बिहान जनकपुरको विभिन्न मठ मन्दिर दर्शन गरेपछि धनुषाधाम मन्दिर पुग्ने कार्यक्रम रहेको छ ।
धनुषामाधामबाट फर्केपछि तीर्थयात्रीहरु भिठामोड हुँदै सीतामढी पुग्नेछन् । यो भ्रमण १८ दिनको हुनेछ ।
खाना र बस्न गरी प्रत्येक यात्रुलाई ६२ हजार ३७० भारतीय रुपैयाँ तिर्नुपरेको भारतीय रेल्वे कम्पनीले जनाएको छ । 'भारत गौरव पर्यटक रेल' नाम दिएको रेलमा जुनसुकै देशको यात्रुले भ्रमण गर्न सकिन्छ ।