काठमाडौँ । एकीकृत समाजवादीका सांसदहरूले मन्त्री हेरफेरको निर्णय नमान्ने भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै संसदीय दलको बैठक बोलाउन माग गर्दै एकीकृत समाजवादीका १० जना सांसदले अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
बजेट अधिवेशन चलिरहेको समयमा मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरालाई सही र स्वाभाविक मान्न नसकिने भन्दै उनीहरूले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा स्वास्थ्य राज्यमन्त्री कृष्णकुमार श्रेष्ठले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
ध्यानाकर्षणपत्रमा मन्त्रीहरू पूर्वजानकारी भए स्वाभाविक प्रक्रियाबाट राजीनामा दिन तयार रहेको उल्लेख गर्दै नेतृत्वले आफूहरूप्रति अपराधीलाई जस्तो व्यवहार गरेको बताइएको छ ।
प्रस्ताव गरिएका नयाँ मन्त्रीहरूको नामावली असमावेशी र असन्तुलित भएको भन्दै त्यसमा पनि सांसदहरूले असहमति जनाएका छन् ।
मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टिमलाई पूरै फिर्ता बोलाउनुपर्ने उनीहरूको माग छ ।
एकीकृत समाजवादीका सांसदहरू कृष्णलाल श्रेष्ठ, गोपालबहादुर बम, विनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरादेवी जैरूले ती मागहरूमा समर्थन जनाएका छन् ।