काठमाडौँ । प्रश्नपत्र छपाइका क्रममा भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेका उच्च माध्यमिक शिक्षा परिषद्का तत्कालीन सहसचिव देवीप्रसाद बराकोटी र उहाँकी श्रीमतीलाई विशेष अदालतले सफाइ दिएको छ ।
शुक्रबार विशेष अदालतका न्यायधीशत्रय शालीग्राम कोइराला, बलभद्र बास्तोला र खुसी प्रसाद थारुको इजलासले बारकोटी र उहाँकी श्रीमती प्रमिला उप्रेतीमाथि गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा सफाइ दिने फैसला गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ असोज २०७४ मा बारकोटी र उहाँकी श्रीमती प्रमिला उप्रेतीमाथि गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा चलाएको थियो ।
बारकोटीले गैर कानूनी रुपमा कमाएको सम्पत्ति श्रीमतीका नाममा राखेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँकी श्रीमतीलाई पनि प्रतिवादी बनाएको थियो ।
बाराकोटीले अवकाश पाइसकेपछि उहाँविरुद्ध प्रश्नपत्र छपाइका क्रममा भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको उजुरी परेको थियो ।
छानबिनका क्रममा दुई करोड दुई लाख रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको अनुसन्धानमा भेटिएको थियो ।
उक्त सम्पत्तिबाट थप एक करोड १७ लाख रुपैयाँ बढाएको भन्दै तीन करोड २० लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो ।
अख्तियारले मुद्दा दाएर गरेको करिब पाँच वर्ष पुग्न लाग्दा दुवै जनालाई सफाइ दिने आदेश विशेष अदालतले गरेको छ ।