मन्त्रिपरिषद्मा फेरबदल: एमालेका चारबाहेक सबै मन्त्री पदमुक्त; जसपाबाट आठ मन्त्री र दुई राज्य मन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच शुक्रबार दिउँसो बालुवाटारमा भएको छलफल पछी ओलीले मन्त्रिपरिषद्मा फेरबदल गर्नुभएको छ । ओलीले एमालेका चारबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्नुभएको छ । ओलीले जसपाका आठ मन्त्री र दुई राज्य मन्त्रीलाई शपथ ग्रहण गराउन लाग्नुभएको छ ।
प्रधानमन्त्री ओलीले एमालेका अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङबाहेक सबै मन्त्रीलाई हटाउनुभएको छ ।
जसपा सरकारमा सहभागी हुने भएपछी ओलीले एमालेका नेता रघुवीर महासेठ, शेरबहादुर तामाङलगायत नेतालाई मन्त्री बनाउने तयारी गर्नुभएको छ ।
ओलीले अर्थमन्त्री विष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाउने तयारी गर्नुभएको छ ।
जसपाका वरिष्ठ उपाध्यक्ष राजेन्द्र महतो उपप्रधान मन्त्री तथा शहरी विकास, शरतसिहं भण्डारी-ऊर्जा, अनिल झा-खानेपानी, बिमल श्रीवास्तव-श्रम, उमाशंकर अरगरिया-युवा, लक्ष्मणलाल कर्ण-भूमी व्यवस्था, चन्दा चौधरी-महिला, एकबाल मियाँ-वन, चन्द्रकान्त चौधरी-ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङले महिला राज्य मन्त्रीको रुपमा शपथ लिदैहुनुहुन्छ । शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउने तयारी छ ।