काठमाडौँ । जनताको ढाड सेक्ने गरि बढेको पेट्रोलियम पदार्थको मूल्य चर्को दबाब पछि घटेको छ ।
पेट्रोलियम पदार्थको मुल्य चर्को रुपमा बढेपछि त्यसको प्रभाव अर्थतन्त्रमा परेको थियो ।
जसको प्रभाव स्वरुप अस्वभाविक रुपमा खाद्यान्न लगायत दैनिक उपभोगजन्य वस्तुभाउको मूल्य आकाशीयको थियो ।
चर्को आलोचना र जनस्तरिय दबाब पछि सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको करमा केही कटौती गर्ने निर्णय गरेपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य घटाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मटीतेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ ।
सरकारले पेट्रोलमा २० रुपैयाँ, डिजेल र मटीतेलमा २९ रुपैयाँ कर घटाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
निगमले कर घटाए बराबर इन्धनको मूल्य घटाएको हो ।
निगमले डिजेलको मूल्य प्रतिलिटर १ सय ६३ र पेट्रोलको १ सय ७९ रुपैयाँ कायम गरेको छ ।
सरकारले भन्सार, प्रज्ञापन शुल्क, भ्याट, पूर्वाधार कर, सडक मर्मत करसहित पेट्रोल लिटरमा ६५ रुपैयाँ ६१ पैसा र डिजेलमा ४९ रुपैयाँ ५३ पैसा कर उठाउँदै आएको छ ।
घटेको मूल्य शनिबार रातिबाट कार्यान्वनयमा आएको छ ।
यसअघि पेट्रोलको मूल्य लिटरको १ सय ९९ र डिजेलको १ सय ९२ रुपैयाँ थियो । हवाई इन्धन, खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।