काठमाडौँ । सभामुख अग्नी सापकोटाले भ्रष्टाचार नियन्त्रण गर्न बलियो कानुन आवश्यक रहेको बताउनुभएको छ ।
‘संसदीय समिति अभ्यास, पहिलो संसददेखि संघीय संसदसम्म’ नामक पुस्तकको विमोचन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रण गर्न गुणस्तरीय कानुन निर्माणमा आफू लागिरहेको बताउनुभयो ।
संसदलाई जिवन्त बनाउँदै संविधान र वर्तमान व्यवस्थालाई बलियो बनाउन क्रियाशिल रहेको सभामुख सापकोटाको भनाइ थियो ।
सभामुख सापकोटाले भन्नुभयो, 'निष्ठा र इमान्दारिताका साथ काम गरिरहेको छु । मेरो अरु कुनै स्वार्थ छैन ।’
उहाँले नागरिकता विधयेक यही सदनबाट पारित गर्ने प्रयास भइरहेको र त्यसका लागि आन्तरिक काम भइरहेको बताउनुभयो ।
‘नेपालको लोकतन्त्र, संविधान र स्वाभिमान नेपाली जनताले बचाएका छन्, राजनीतिक दलहरुले बाटो बिराए भने जनताले हस्तक्षेप गर्न सक्छन्, अहिले जनताले त्यसकै संकेत गराइरहेका छन्', सभामुख सापकोटाले भन्नुभयो ।
अमेरिकामा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको अतिवादले प्रजातन्त्र खतरामा परेको र त्यहाँको बलियो राजनीतिक प्रणालीले प्रजातन्त्र जोगाएको सभामुख सापकोटाको भनाइ थियो ।