तस्वीर : घटनास्थलबाट प्रहरीले बरामद गरेको हतियार
लहान । पेस्तोल खेलाउँदै गर्दा चलेको गोली लागेर एक जना घाइते भएका छन ।
मधेस प्रदेशको लहान नगरपालिका–२२ बेलीजटियाही टोलमा गोली चल्दा एक जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
आइतबार विहान स्थानीय रविन्द्र चौधरीको घरको मचानमा(अग्लो बाँसको छाप्रो)मा सुशान्त चौधरीले पेस्तोल खेलाउँदा सँगै बसेका दिलिप मुखियाको पेटमा गोली लागी घाइते भएको प्रहरीले बताएको छ । घाइते दिलिपलाई उपचारको लागि धरान पठाइएको छ ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार प्रसाद मैनालीले बिहान ८ बजे घटनाबारे जानकारी प्राप्त भएको बताउनुभयो ।
१९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया तिनै जना साथीहरु पेस्तोल खेलाउँदै गर्दा ट्रिगर दाबिएर गोली चलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँको भनाइ छ ।
गोली चलेको खबर पाएलगत्तै डिएसपी मैनाली नेतृत्वको प्रहरी टोलीले घटनास्थल पुगेर सुशान्त र सुरजलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
घटनास्थलबाट प्रहरीले कटुवा पेस्तोल १ थान, म्यागजीन लोड भएको स्वचालित पेस्तोल एक थान। ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागजिन १ थान, गोलीको खोखा एक थान बरामद गरेको छ ।
बरामद हतियार कहाँबाट आए भन्नेबारे तथा घटनाको अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
घटनामा संलग्नहरु लागुऔषध कारोवारमा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ ।