आम जनमानसलाई कानुनी शासनको अनुभूति दिने न्यायको धरोहर संस्था न्यायालयका सम्बन्धमा बेला बखत आउने समाचारले न्यायको खोजीमा बर्षौं कुरी बसेका मानिसलाई निरास बनाउने गरेको छ ।
प्रचलित कानुनलाई आधार मानि स्वतन्त्र, निष्पक्ष र भयरहित किसिमले विशुद्ध न्यायिक मनबाट दोषी र निर्दोषी खुटाई समाजलाई चलायमान बनाउने काम हो न्यायालयको ।
त्यसैले न्याय मुर्तिहरु आफ्नो कर्तब्य पालनाका लागि जे जस्ता निन्दा, प्रशंशा, कर-काप, डर-धम्कि, लोभ-लालच जस्ता कुराबाट विचलित नभई न्याय निसाफ दिनु पर्छ भन्ने मान्यता छ ।
त्यसैले नै भनिएको छ-"निन्दन्तु नीति निगुणा यदि वास्तुवन्तु लक्ष्मी समस्विशतु गच्छतु वा यथेष्टम ,अन्धव वा माण मस्तु युवान्त्रेवा न्यायात पन्थ प्रविचलन्ति पन्थ नाधिश" ।
अर्थात निन्दा गरुन वा प्रशंशा, धन आउन वा जाउँन, आजै मर्नु परोस वा कालान्तरमा यी कुनै कुराको कत्ति चिन्ता नराखी न्यायिक मार्गमा लाग्नेहरु कहिलै बिचलनमा हुदैनन् ।
माननीय न्यायमुर्तिका लागि सदैव आदर्श रहने माथि उल्लेखित उद्धरणलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राज कुमार कोइराला र अधिवक्ता रुद्र पोख्रेल बिच झगडीया पक्षलाई उन्मुक्ति दिने बिषयमा भएको अडियो सम्वाद सार्वजनिक भएको कुरा होस वा न्यायालयको सर्वोच्च अंगमा पदाशिन हाल निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेरकै कार्यसम्पादन र नैतिक आचरण कै बिषय नै किन नहोस यसले समग्र राज्यको एक मुख्य अंग न्यायपालिकाको नै बदनाम हुन गएको छ ।
समय समयमा हुने यस्ता घटनाले जनविश्वासको आडमा विश्वास पाई आएका न्यायालय र न्यायमुर्तीको आदेशलाई समाजमा कार्यान्वयन गराउने नैतिक आधार समाप्त हुने देखिन्छ ।
त्यसो त समाजले स्विकार्दै आएका मूल्य मान्यता र कानुनी विषयमा टेकेर दोष निर्दोष खुटाइ समाजलाई चलायमान गराउने उच्च आदर्श र नैतिकतामा रहने ब्यक्तित्व जसको दैनिक दिनचर्या समेत स्वीकृत कोड अफ कन्डक्टमा चलेको हुन्छले; लोक नै लजाउने कार्य गरेको कुरा सार्वजनिक हुनु अक्षम छ ।
यसले जनजिब्रोमा आउने न्याय महँगो भयो न्याय किन्न सकिएन भन्ने भुइँ मान्छेका कथा ब्यथालाई पुष्टि गरेकोछ ।
राज्यका अन्य अंग (मुख्य गरि कार्यपालिका)ले सत्ताको उन्मादमा समाजमा भयको स्थिती ल्याउन सक्ने सम्भावनालाई रोक्न शक्ति सन्तुलन र नियन्त्रण मार्फत प्रस्तुत हुनुपर्नेमा आफै बिचौलिया र घुसखोरीमा डुब्नु दु:खद छ । यसले कानुनी राज्यको परिकल्पनालाई धुलिताम्य बनाएको छ ।
बिगत लामो समय देखि बिदेशी सहयोग र समन्वयमा न्यायालय सुधारका लागि गरिएका प्रयास र लगानिको पनि औचित्यता के भन्ने प्रश्न स्वभाविक रूपमा उठेको छ ।
अत हाल सम्म प्राप्त राजनैतिक परिवर्तनलाई औचित्यपूर्ण बनाउन ब्याप्त जननिरासालाई विश्वास दिनको लागि पनि राज्यको तिनै अंगले आफुमा शुद्धीकरण गरि एक अर्कालाई शक्ति सन्तुलन तथा नियन्त्रणमा रहि प्राप्त राजनैतिक उपलब्धिको रक्षाका लागि लाग्नु आवश्यक छ ।
त्यस्तै नागरिक समाज र राज्यको चौथो अंग आमसंचार जगत समेत चनाखो भै आफ्नो जिम्मेवारीमा लाग्नु आवश्यक छ ।