नुवाकोट । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले प्रदेश गोदाम घर शाखा र सुरक्षा ब्यारेक भवनको उद्घाटन गर्नुभएको छ ।
बिपद ब्यबस्थापनका लागि आवश्यक आपतकालीन सामाग्रीहरु भण्डारण रहने उक्त गोदाम घर र सुरक्षा ब्यारेक भवनको एक कार्यक्रमकाबीच मन्त्री शर्माले उद्घाटन गर्नुभएको हो ।
नुवाकोट जिल्ला स्थित बिदुर नगरपालिका वडा नम्बर - ३ बुद्धसिंह घाटमा रहेको उक्त गोदाम घरबाट नुवाकोट, रसुवा र धादिङ जिल्ला लाभान्वित हुने अपेक्षा गरिएको छ ।
गोदाम घरसँगै उदघाटन भएको सुरक्षा ब्यारेकमा आपतकालीन उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा रहने जनाइएको छ । यसबाट बिपद व्यवस्थापन र उद्धारका लागि सहयोग पुग्ने बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कानुन मन्त्री शर्मा खनालले बिपद व्यवस्थापन र राहतका लागि मन्त्रालय सदैव तयार रहेको बताउनुभयो ।
कार्यक्रमका अतिथि बिदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले शुभकामना मन्तव्य दिँदै बिपद व्यवस्थापनका लागि नगरपालिका सचेत रहेको र हाल उदघाटित गोदाम घरको संरक्षण र संचालनमा सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
अतिथि कै रूपमा आफ्नो मन्तव्य राख्दै नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बिपद व्यवस्थापन सम्बन्धि सामाग्री रहने गोदामघरबाट बिपद व्यवस्थापनमा सहयोग पुग्ने आशा व्यक्त गर्नु भयो ।
कार्यक्रमको सभापतित्व आन्तरिक मामिला तथा कानुन सचिव नारायण प्रसाद शर्माले गर्नु भएको थियो ।