- अंगद श्रेष्ठ
नोट : २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम जिल्ला निर्वाचन कार्यालय बर्दियाबाट प्राप्त भएको आधारमा चार्ट तयार गरिएको हो ।
राणाहरुको एकतन्त्रीय शासनले जनतामा गरेको अन्याय, अत्याचार, शोषण र दमनको विरुद्धमा साथै जनताको मौलिक हक अधिकार स्थापनार्थ देशमा चलिरहेको विभिन्न आन्दोलनले स्थापित गर्न हम्मे परेको अवस्थामा जनताको मुक्तिको लागि, सर्वहारा वर्गको शासन स्थापित गर्न कम्युनिस्ट पार्टी स्थापना गर्नुपर्ने आवश्यकता देखिएकाले विक्रम सम्वत् २००६ साल बैशाख १० गते आदरणीय कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा कमरेड निरन्जन बैद्य, कमरेड नरबहादुर कर्माचार्य, कमरेड नारायण विलास जोशी र कमरेड दुर्गादेवी श्रेष्ठ रहेको कमिटी गठन गरी नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।
वि.सं.२००६ साल देखि जनताको माझमा रहेर जनताको मुक्तिको लागि क्रान्तिको शंखघोष गरी समाजवाद हुँदै साम्यवादको लक्ष्य प्राप्तीको लागि निरन्तर संघर्षरत रहे हाम्रा अग्रजहरु ।
सादगीपूर्ण जीवन निर्वाह गर्ने हाम्रा अग्रजहरुको त्यागपूर्ण जीवनशैली, समर्पण जनता र राष्ट्रप्रति र स्वाधिन सार्वभौमसम्पन्न राष्ट्रको निर्माणको लागि आफ्नो जीवननै आन्दोलनमा समर्पित गरेको देखेर नै यस्ता असल, कुशल नेतृत्वको आह्वानलाई आत्मसाथ गर्दै हजारौँ वीरहरुले सर्वहारा वर्गको नेतृत्व स्थापित गर्न जीवन उत्सर्ग गरेका छन ।
लाखौँ कार्यकर्ताहरुको रगत र पसिनाले सिँचेर आजको कम्युनिस्ट पार्टी स्थापीत भएको हो ।
समयको कालचक्र सँगै विभिन्न समयमा नेपालमा रहेका कम्युनिस्ट पार्टीहरु जुट्दै, टुक्रिदै फेरी जुटदै गणतन्त्र, समाजवाद हुँदै साम्यवाद प्राप्त गरी जनताको हक स्थापित गर्न र नेपालको सार्वभौमकितालाई अविछिन्न राख्न निरन्तर आफ्नो जीवनको पर्वाह नगरी कठिन संघर्षको यात्रामा जुधिरहे ।
नेपालको ईतिहासमा पटक–पटक कम्युनिस्ट पार्टी जुटे–फुटे र त्यसको प्रभाव कम्युनिस्ट आन्दोलनमा पर्यो ।
हजारौँ व्यक्तिहरु घरवार विहिन हुन पर्यो, सयौँ वीर सपुतहरुले वीरगति प्राप्त गर्नु पर्यो जनताको शासन स्थापित गर्नका लागि ।
तत्कालिन शासकहरुको शासनकालमा देशको बिकास सोंचे जस्तो हुन सकेन । देश अनिर्णयको बन्दी बन्यो र जनताहरु अन्याय र अत्याचारको जाँतोमा पिल्सीरहे । टुटफुटको स्थितीबाट आजीत भएका कम्युनिस्टहरुको चेत खुल्यो ।
फरक–फरक धारमा रहेका कम्युनिस्ट पार्टीहरुबीच एकता हुन थाल्यो । समयको माग बमोजिम माक्र्सवादी र माले पार्टीबीच एकताको प्रकृया शुरु भयो ।
वि.सं.२०४७ साल पौष २२ गते तत्कालीन माले र मार्क्सवादी पार्टीबीच भएको महत्वपूर्ण पार्टी एकताले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नाममा नेपालको राजनीतिमा एउटा नयाँ शक्तिको उदय भयो । जसले पंचायती शासनलाई कडा टक्कर दिन सफल भयो ।
त्यसरी नै २०५२ फाल्गुन २ गते देखि जनविद्रोह गरेर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पनि आफ्नो उपस्थिती देखाउन सफल रह्यो ।
जनताको चाहाना, समयको माग बमोजिम वि.सं.२०७५ जेठ ३ गते नेकपा एमालेका अध्यक्ष कमरेड केपी ओलीको अगुवाईमा नेकपा माओवादी केन्द्रसंग ऐतिहासिक पार्टी एकता भयो ।
दुई पार्टीको ऐतिहासीक एकतामा धेरै नेताहरुको योगदान छ । विशेष गरेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तत्कालीन केन्द्रीय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख कमरेड बामदेव गौतमको नाम पनि अग्ररुपमा आउने गर्दछ ।
विश्वमा कम्युनिस्टहरुले धक्का खानुपरेको अवस्थामा पनि ऐतिहासीक कम्युनिस्ट एकताको परिणाम स्वरुप नेपालमा २०७४ सालको आम निर्वाचनमा सरकार संचालनका लागि झण्डै दुई तिहाईको नजिक पुग्ने गरी जनताले अभिमत दिएका थिए ।
तथापि, सारमा धेरै सत्य कुराहरु समयक्रममा बाहिर आउँदै जाला । तर, रुपमा नेतृत्वबीच सत्ता प्राप्तीको लागी रडाको मच्चाएको आरोप छ । आज कम्युनिस्ट पार्टीलाई माया गर्ने जनताहरु, कार्यकर्ताहरु रनभुल्लमा छन, अनुत्तरित छन ।
के भयो ? कसरी भयो ? किन भयो ? एकिकृत वामपन्थीको अत्यधिक बहुमतको सरकार किन ढल्न पुग्यो ? क–कसका कारणले ढल्न पुग्यो ?
आफुलाई अति नै क्रान्तीकारी देखाउन एकिकृत पार्टी फुटाएर दक्षिणपन्थी पार्टीको रुपमा रहेको नेपाली कांग्रेसलाई सत्तामा स्थापित गर्ने पलायनवादी सोँचलाई क्रान्ति देख्ने प्रवृति किन आयो ?
यि सबै अप्रिय घटनाको पछाडी एमसिसी-एसपिपी एजेण्डाले त काम गरेको छैन ? साम्राज्यवादी र विस्तारवादी नाईकेहरु हामीलाई लडाएर स्वार्थ सिद्ध गरिरहेका त छैनन् ?
पार्टीका ईमान्दार कार्यकर्ताहरु तथा शुभचिन्तकहरुले गहनताका साथ सोच्ने बेला आएको छ । साथै, साम्राज्यवादी तथा विस्तारवादीहरुलाई खवरदारीका लागि आवाजहरु बुलन्द गर्नु पनि त्यतिकै जरुरी छ ।
साम्राज्यवादी, विस्तारवादीहरु नेपालको कम्युनिस्ट आन्दोलनलाई निर्मम तरिकाले निमोठ्न अँध्यारा कोठामा बसेर योजना बुनिरहेका छन ।
जानी, नजानी हाम्रा परिवर्तनका संवाहकहरु तीनका जालोमा परिरहेको भान भईरहेको छ । रुपमा देख्दा हाम्रा कम्युनिस्ट नेताहरुमा राष्ट्रवाद चक्रोरुपमा देखिएको छ भने सारमा शक्ति संघर्ष नै देखिएको छ भन्दा, दुई मत नहोला ।
आदरणीय अग्रज, धेरै स्थापित कम्युनिष्ट नेताहरुका गुरु कमरेड मोहन विक्रम सिंहले भन्नुभएको याद आउँछ, “कम्युनिस्ट नेताहरुको लडाई रुपमा सैद्धान्तिक भएपनि सारमा त्यो व्यक्तिको अहंकार र स्वार्थको लडाई हुन्छ ।”
के अहिले नेपालका कम्युनिस्टहरुमा देखिएको द्वन्द्वलाई कमरेड सिंहकै भनाईमा बुझ्दा उचित हुन्छ त ? यदी हुदैन भने किन ? यसको चित्त बुझ्दो जवाफ कार्यकर्ताले पाउने अधिकार राख्छन कि राख्दैनन् ?
नेपालका कम्युनिस्टहरुको सडकमा पोखिने गरी देखिएको विवादले कम्युनिस्टहरुको गरिमालाई घटाएको छ भने तमाम कार्यकर्ता र शुभचिन्तकहरुको मन रुवाएको छ ।
त्याग, संघर्ष, बलिदानबाट प्राप्त नेपालको संविधानले प्रदत्त गरेको उदेश्यलाई प्राप्त गर्न पाएको अधिकारलाई सदुपयोग नगरी कम्युनिस्ट शक्ति संघर्षमा खर्चिनुले “जुनजोगी आएपनि कानै चिरेको” भन्ने उक्ति चरितार्थ भएको होकी भन्ने भ्रम जनताको माझमा सृजना भएको छ ।
जनताका आधारभूत आवश्यकता, जनजीवीकाको सवालमा सरलता, नेपालको संविधानले निर्दिष्ट गरेका मौलिक हक अनुसारका अधिकार प्राप्तिमा सुनिश्चितता नै जनताको आजको आवश्यकता हो ।
जनताको जीवनसंग सिधै जोडीने सवालबाट विमुख भई जनताले जनताको लागि स्थापित गरेको कम्युनिस्ट सरकारले जनताकै लागि भन्दा आफ्नो सत्ता टिकाउन वा सत्तामा पुग्न मात्र विवाद गरेको हो की ? तमाम कम्युनिष्ट पार्टीका कार्यकर्ता लगायत जनता जनार्दनमा पनि एकखाले निराशा छाएको छ ।
“मेरो गोरुको बाह्रै टक्का” भन्ने भनाईबाट बाहिर निक्लेर म म भन्ने भावनाबाट प्रेरित भई हाम्रा आदरणीय नेताहरुले आ–आफ्ना अडानमा पुर्नविचार गर्नुभयो भने अवश्य हामी कार्यकर्ता र शुभचिन्तकहरु हर्षित हुने मौका पाउने थियौ ।
विगत देखि आगत सम्म कम्युनिष्ट पार्टीको छविलाई उच्च राख्न, व्यक्तिगत स्वार्थ भन्दा माथी उठी पार्टीगत स्वार्थमा हिडनु पर्छ भन्ने कम्युनिस्टको प्रशिक्षणबाट प्रशिक्षित हामी जस्ता हजारौँ, लाखौं कार्यकर्ताको मन यसवेला तड्पिरहेको छ ।
२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जनताको अभिमत वामपन्थी तर्फ रहँदारहँदै पनि विखण्डीत वामपन्थीहरुले पराजय व्यहोर्नु परेको छ ।
भर्खरै,जननेता तथा “जनताको बहुदलिय जनवाद” का प्रतिपादक कमरेड मदन भण्डारीको ७१ औं जन्मजयन्ती मनाएका छौँ । बहुदलिय जनवाद र अभिव्यक्ति स्वतन्त्रताको वारेमा खुलेर बहस गरेका छौँ ।
म हार्दिकताका साथ जान्न चाहन्छु की जनताको बहुदलिय जनवादको १४ वटा विशेषताहरुले कहाँ निर अनेकताको कुरा गरेको छ ।
स्वच्छ प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै जनताको अभिमतबाट सत्ता प्राप्त गरेर जनता र राष्ट्रको हितमा काम गर्दै जाने कुरालाई आत्मसाथ गर्न सकेनौँ भने सिङ्गो कम्युनिस्ट आन्दोलन,जनता र राष्ट्रप्रति नै धोखा हुने छ ।
मार्क्सवादको जगमा उभिएका नेपालमा रहेका कम्युनिस्ट पार्टीहरुको लक्ष्य एउटै, सिद्धान्त एउटै हुँदाहुँदै र बहुदलीय प्रतिस्पर्धा र बहुपदिय संरचनालाई स्विकार गरिरहेको अवस्थामा फरक–फरक पार्टी बनाएर हिँड्नुको के अर्थ ?
आजको आवश्यकता वामपन्थीहरु वीचको एकता नै हो । यो समयको माग हो । कार्यकर्ताहरुको चाहना पनि हो ।
स्थानीय तह २०७९ को निर्वाचनको परिणाम हेर्दा पनि जनताको अत्यधिक अभिमत वामपन्थी पार्टीहरु तर्फ नै देखिन्छ ।
यसर्थ, अब छिटै हुने संघिय तथा प्रदेशको निर्वाचनमा वामपन्थीको सरकार बनाउन, जनता र राष्ट्रको हित गर्न पार्टी एकता गरि वा सम्भव नभए कार्यगत एकता गरि अगाडि बढ्नुपर्ने आजको आवश्यकता छ ।
बर्दिया जिल्लाको सन्दर्भमा मात्रै भन्ने हो भने पनि विगत देखि नै बर्दिया जिल्ला लालकिल्ला हो ।
विडम्वना, कम्युनिस्टहरुको फुटको फाईदा कांग्रेसले उठायो र लाल किल्लालाई भत्काउन सफल बन्यो ।
अवस्तुवादी तरिकाले नेकपा माओवदी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले कांग्रेससँग गठवन्धन गर्ने काम गरे जसको परिणाम “चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी” भन्ने उखान वामपन्थीहरूमा चरितार्थ भयो ।
यसर्थ, बर्दिया जिल्लालाई मात्र नभई हरेक जिल्लामा कांग्रेसको बर्चस्वलाई स्खलन गराउने हो भने जनतालाई दिलमा, सिद्धान्तलाई दिमागमा राखेर कमिकमजोरीलाई आत्मसाथ गर्दै आत्मोलचना सहित कम्युनिस्टहरु पार्टीगत वा कार्यगत एकताको लागि ईमान्दार रुपमा एकतावद्ध हुन जरुरी छ ।
तबमात्र नेपाली कांग्रसको किल्लालाई सहजताका साथ ढाल्न सकिन्छ भन्दा अतिशयोक्ती नहोला ।
स्थानीय तह २०७९ को निर्वाचनमा खसेको मतलाई आधार मान्ने हो भने सबै भन्दा बढी मत अहिले वामपन्थी झुकावका छन ।
ती मतहरु विभिन्न वामपन्थी दलका उम्मेदवारकाबीच बाँडिएका छन ।यदि यि दलहरुको एकता भएमा कांग्रेसको तथाकथित किल्लामा लाल झण्डा लहरिने छ ।
स्थानीय तह २०७९ को निर्वाचनमा खसेको मतलाई आधार मान्ने हो भने माथीको चार्टबाट स्पष्ट हुन्छ कि बर्दियामा वामपन्थी एकता भयो भने यो जिल्ला लाल किल्लामा परिणत हुनेछ ।
लेखक अंगद श्रेष्ठ नेकपा (एमाले) बर्दियाका युवा नेता हुनुहुन्छ । उहाँ नेकपा (एमाले) बर्दियाको जिल्ला कमिटीको सचिवालय सदस्य तथा कार्यालय सचिव हुनुहुन्छ ।