तस्वीर : बायाँ कोष्ठकमा मेयर अम्बिका, दायाँमा मृतक १५ वर्षीय विनोद शाही
अछाम । हत्या आरोपको अनुसन्धानका लागि अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणको अनुसन्धानका लागि मेयर अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायण डाँगीका अनुसार चलाउनेसँगै अर्का एक आरोपितलाई शनिबार साँझ नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मेयर चलाउनेसँगै अर्का एक आरोपित शनिबार साँझ प्रहरीकहाँ स्वयं उपस्थित भएका थिए । प्रहरीले थप अनुसन्धानका लागि उनिहरुलाई नियन्त्रणमा लिएको बताएको छ ।
शाही मृत्युको अनुसन्धानका लागि पक्राउ पर्नेको संख्या ७ पुगेको छ । पीडित पक्षले हत्या गरेको आरोप लगाउँदै मेयर चलाउने सहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
उक्त मुद्दामा प्रहरीले यसअघि नै पाँच जनालाई पक्राउ गरिसकेको थियो । आइतबार चलाउनेसहित सात जनालाई अदालतबाट २ दिनको म्याद थप गरी हिरासतमा राखेको छ ।
गत जेठ १७ गते बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिकाका शाहीको शव २० गते भेटिएको थियो ।
जेठ २६ गते शाहीका परिवार र आफन्तले नवनिर्वाचित मेयर चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
जाहेरी पर्नेमा अधिकांश स्थानीय कांग्रेसका नेता तथा कार्यकर्ताहरू छन् ।
३० वैशाखको स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो ।
त्यसपछि कांग्रेस कार्यकर्ताले जाहेरी दिएका व्यक्तिहरुलाई १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो ।
सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि शाही मृत भेटिनुभएको थियो ।