कर्णाली । तातोपानी गाउँपालिका–१ जुम्ला बाइराँका गाउँका दलबहादुर सार्की (दले) २४ वर्षपछि आफन्तको सम्पर्कमा आउनुभएको छ ।
उहाँ विसं २०५५ मा घरबाट निस्कनुभएको थियो । मङ्गलबार मात्र भारत हिमाञ्चल प्रदेश कुल्लु जिल्लाको मनाली भन्ने सहरमा भेटिनुभएको वैदेशिक रोजगारका लागि कतार गएका उहाँका भाइ जगमुन सार्कीले जानकारी दिनुभयो ।
“यतिका वर्षसम्म दाइ कहाँ हुनुहुन्थ्यो थाहा भएन”, जगमुनले भन्नुभयो, “कामका लागि भारतमा जानुभएको माइलो दाई (दलबहादुर सार्की)ले भेटाउनुभएको छ । जेठो दाइ भेटिएको खबरले निकै प्रफुलित बनायो । हिजो नै दाइसँग भिडियो कलमै कुरा गरेर लामो समयसम्मको भ्रातृप्रेमको धित मेटाएँ ।”
घरमा श्रीमतीसँग भएको झगडाका कारण विरक्तिएर हिँडेका दलबहादुरलाई परिवारले लामो समयदेखि खोजी गर्दै आइरहेको थियो । दाजु घरबाट सम्पर्कविहीन भएपछि त्यसको लगत्तै भाउजुले नाबालक बच्चालाई छोडेर अर्कैसँग विवाह गर्नुभएको जगुमानले बताउनुभयो ।
दलेको छोरा कृष्ण सार्की यतिबेला २५ वर्षको भइसक्नुभएको छ । तर छोरालाई आफ्ना बाबा हुनुहुन्छ भन्ने कुरा थाहा थिएन । कृष्ण यतिबेला घरमै हुनुहुन्छ ।
गाउँका सबैले कृष्णलाई बाबा मरिसक्नुभएको कुरा सुनाउथे । हुन पनि बाबाको अत्तोपत्तो थिएन । बाबा भेटिएको खबर सुनेका उहाँलाई कल्पनाभन्दा बाहिरको कुरा जस्तो लागिरहेको छ ।
नाबालक अवस्थादेखि बाबा भन्न नपाएका कृष्णको आमाले अर्कैसँग विवाह गरेपछि आमाबाबा भएर पनि उहाँ टुहुरा जस्तै हुनुभएको थियो । घरबाट हराएका दलबहादुर लामो समयसम्म घर नफर्केपछि परिवारले पुनःमिलन हुने कुराको आश मारिसकेका थिए ।
कृष्णका अनुसार बाबा भेटिएको कुरा मनालीमा काम गर्न जानुभएको माइला बाबा कले सार्कीले जानकारी दिनुभएको थियो । त्यो खबरले अहिले उहाँको खुशीको सीमा छैन । कृष्णले बाबासँग फोनबाट कुरा गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाबासँग फोनमा कुरा गरे । मेरो बाबासँग बोल्न पाउँदा साँच्चिकै उहाँ स्वर्गबाट झरेजस्तो लागिरहेको छ । अब चाँडै नेपाल आउँछु ।”
जगमुनले काम गर्ने दौडानमा हिँडिरहेका बेलामा दाइ (दलबहादुर)सँग भेट भएको बताउनुभयो । “दाई मनालीमा भेटिएपनि उहाँ लद्दाख बस्नु हुँदोरहेछ”, जगमुनले भन्नुभयो, “व्यावसायिक लाइसेन्स बनाउन आउनुभएको रहेछ । सौभाग्यवशः मनालीमा भेट भयो ।” भेट हुँदा सुरुमा उहाँले आफूलाई नचिनेको जनाउनुभयो ।
दलबहादुरले गाउँ, समाज र परिवार सबैको याद आए पनि कामको सिलसिलाले बिर्से जस्तो भएको अनुभूति राससलाई सुनाउनुभयो ।
“म २०५५ सालमा भारत छिरे । त्यतिबेला नेपालमा चरम द्वन्द्वको समय थियो । सहजै घर जानसक्ने अवस्था थिएन”, उहाँले भन्नुभयो, “पछिल्ला दिनमा कसैसँग भेटघाट र फोन सम्पर्क हुन सकेन । बस्दा बस्दा वर्षौं बितेको पनि पत्तै पाइन ।”
भाइका साथै छोरा कृष्णसँग कुरा भएको जनाउँदै उहाँले दुई-तीनपछि नेपालगन्जसम्म गएर पुनःभारत फर्कने र दसैँको समयमा घरपरिवार भेट्न जुम्ला पुग्ने बताउनुभयो ।