धनगढी । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघीय र प्रदेश सभाको चुनाव अगाडि कुनै पनि पार्टीसँग एकता नहुने बताउनुभएको छ ।
समाजवादी प्रेस संगठनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र र समाजवादी पार्टीबीच एकीकरणबारे सोधिएको प्रश्नमा अध्यक्ष नेपालले चुनावअघि एकीकरणको सम्भावना नरहेको बताउनुभयो ।
एकीकरणको विषयले अहिले कतिपय कमिटी तरंगित भएका छन् । ‘एकीकरण भइहाल्छ कि भन्ने बुझाइ छ,’ उहाँले भन्नुभयो, ‘आगामी चुनावअघि कुनै पनि पार्टीसँग हाम्रो एकताको सम्भावना छैन ।'
अध्यक्ष नेपालले आगामी चुनावसम्म अहिलेकै गठबन्धनले निरन्तरता पाउने बताउनुभयो ।
आवश्यक भएका ठाउँमा गठबन्धनबीच चुनावमा तालमेल हुने उहाँको भनाइ छ ।
अध्यक्ष नेपालले सबै कम्युनिस्ट पार्टीबीच वाम एकता भएर चुनावमा जाने सम्भावना तत्काल नरहेको पनि बताउनुभयो ।
समाजवादीले एक्लै जित्ने ठाउँमा एकल उम्मेदवारी दिने र आवश्यक भएका ठाउँमा गठबन्धनबीच तालमेल गरेर जाने उहाँको भनाइ छ ।
‘गठन भएको छोटो अवधिमा हाम्रो पार्टी राष्ट्रिय पार्टीका रुपमा स्थापित भएको छ । आउने चुनावसम्म हामी सबै पालिका र वडा तहसम्म पुग्छौं,’ उहाँले भन्नुभयो, ‘चुनाव आफ्नै बलबुतामा लड्न सक्षम हुने गरि अहिले हामी संगठन निर्माणमा केन्द्रित छौं ।