बर्दिया । राजापुर नगरपालिकामा रहेको अमर शहीद बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले विद्यार्थीका विभिन्न माग राख्दै क्याम्यस प्रशासनमा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।
शिक्षकलाई पुर्णकालिन गर्न र गुणस्तरिय शिक्षाका लागि बारम्बार बैठक बसेको भएपनि उचित निर्णय नगर्दा शैक्षिक क्षेत्रमा नोक्सानी ब्यहोर्नु परेको भन्दै स्ववियुका विद्यार्थी नेताहरूले तालाबन्दी गरेका हुन् ।
क्याम्पस प्रशासनले विधान संसोेधनको बहाना देखाएर प्रक्रिया अगाडी नबढाएको, विधान संसोधन समिति गठन भएता पनि उक्त समितिले विधान संसोधन गर्न नसकेको लगायतका अन्य बिभिन्न कारणले विद्यार्थीहरुले समस्या झेल्नु परेको अवस्था सृजना भएकाले बिरोध स्वरुप अनिश्चितकालिन तालाबन्दी गर्नुपरेको अमर शहीद बहुमुखी क्याम्पस, राजापुरका स्ववियु सभापति दिलिप रत्गैँयाले बताउनुभयो ।
क्याम्पसमा विद्याथीहरुलाई शुद्ध खानेपानी, गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि स्थायी शिक्षकको व्यवस्था, स्ववियुको खातामा आउने रकम क्याम्यसद्वारा प्रदान गरिदिनु पर्ने, स्ववियुले खर्च गरेको बिल पास गर्न आनाकानी गर्न नपाईने लगायतका माग विद्यार्थीहरुले राखेका छन ।
क्याम्पस प्रशासनले आफ्ना मागहरुको सम्बोधन नगरेको हुनाले तालाबन्दी गर्न बाध्य भएको स्ववियु सभापति रत्गैँयाले बताउनुभयो ।
सभापति रत्गैँयाले भन्नुभयो, "यसरी ताला बन्दी गर्न र विद्यार्थीहरुको पढाईमा अवरोध गर्न/गराउन हामीलाई रहर छैन । तथापि विद्यार्थीको हक हितको लागी बन्द गर्नुपरेको अवस्था छ । विद्यार्थीहरुकै भविस्यमा प्रश्न चिन्ह खडा हुने गरि भए/गरेका क्रियाकलापको बिरोध स्वरुप यो निर्णय लिन बाध्य भएका हौँ ।"
विद्यार्थीहरुका माग क्याम्पस प्रशासनले सम्बोधन नगरेको खण्डमा आन्दोलनलाई सशक्त बनाइने सभापति रत्गैयाले बताउनुभयो ।
आन्दोलनबाट भइपरि आउने परिस्थितिको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन हुने बताउँदै सभापति रत्गैँयाले समयमै विद्यार्थीहरुको माग पूरा गर्न क्याम्पस प्रशासनलाई चेतावनी दिनुभयो ।