तस्बिर : कुख्यात मिटर ब्याजी सञ्जय रौनियार
महोत्तरी । पत्रकार ललनकुमार मण्डलमाथि भएको आक्रमणको घटनाको पत्रकार सम्बद्ध सङ्घ, सङ्गठनले निन्दा गरेका छन् ।
एकजना मिटरब्याजीसँग सम्बन्धित घटनाको रिपोर्टिङका क्रममा गत सोमबार जिल्लाकै गौशाला बजारमा पत्रकार मण्डलमाथि भएको हातपातको नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखा र अन्य पत्रकारसम्बद्ध सङ्घ, सङ्गठनले आज विज्ञप्ति नै जारी गरेर निन्दा गरेका हुन् ।
महासङ्घ जिल्ला शाखाका कार्यवाहक अध्यक्ष हेमकुमारी बराल (सुनिता)ले स्वतन्त्र रुपमा समाजमा घटित घटनाबारे सोधपुछ गर्दा पत्रकार मण्डलमाथि आक्रमण गरी हातपात गरिएको घटना निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
महासङ्घ जिल्ला शाखाको आज जारी विज्ञप्तिमा घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गरिएको छ ।
त्यसैगरी जिल्लाका पत्रकार सम्बद्ध सङ्गठन नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार मण्डलमाथि भएको हातपात घटनाबारे छानबिन गरी सबै दोषीउपर कारबाहीको माग गरिएको छ ।
युनियनका जिल्ला अध्यक्ष रवीन्द्र उप्रेती, चौतारीका जिल्ला अध्यक्ष नवीन प्रियदर्शी र सेन्टरका जिल्ला अध्यक्ष धनवीर महतोले जारी गर्नुभएको संयुक्त विज्ञप्तिमा पत्रकार मण्डलमाथि आक्रमण गर्ने र मिटरब्याज असुलेर सिधासाधा जनताको बिल्लीबाठ पार्नेलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।
महासङ्घ जिल्ला शाखाका सदस्य तथा बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष पत्रकार मण्डल नेपाल प्रेस युनियनका केन्द्रीय परिषद् सदस्य पनि हुनुहुन्छ ।
न्युज–२४ सञ्चारमाध्यममा आबद्ध पत्रकार मण्डललाई कुख्यात मिटर ब्याजी सञ्जय रौनियारसहितका केही व्यक्तिको समूहले सोमबार मिटरब्याजी घटनाको सोधखोजका क्रममा आक्रमण गरेको थियो ।
यसैबीच नेपाल प्रहरीले पत्रकार मण्डलमाथि हातपात गर्नेमध्ये कुख्यात मिटर ब्याजी सञ्जय रौनियारलाई पक्राउ गरी आवश्यक छानबिन थालेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले घटना सम्बद्ध अन्य आरोपीको खोजबिन भइरहेको जानकारी दिनुभयो ।