काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाइकल र स्कुटर खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ ।
ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बिभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ४ वटा स्कुटर सम्बन्धित धनीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद भट्टले हस्तान्तरण गर्नुभएको हो ।
सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाइन मार्फत समेत निवेदन दिन ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।
विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निवेदन पश्चात परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरू फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो: “हाम्रो टोलीले उपत्यका आसपासको ईलाकामा विशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरू बरामद गर्दछन्, चोरीमा संलग्न मानिसहरूलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेका छौं । अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलहरू सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेका छौं ।”
थप प्रष्ट पार्दै प्रवक्ता (एसएसपी) भट्टले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारी धनी पनि विशेष चनाखो र सजग हुनुपर्ने बताउनुभयो ।
उहाँले सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरूको समेत प्रयोग गर्न अनुरोध गर्नुभयो ।
मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पीडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत ट्राफिक प्रहरी कार्यालयले परिचालन गरेको छ ।
सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाइन मार्फत समेत निवेदन दिन ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।