लुम्बिनी । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु एक हजार चोरेको आरोपमा एकजनाले पत्नीको हत्या गरेका छन् ।
कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मङ्गलबार राति हत्या गरेका हुन् ।
उनले मादक पदार्थ सेवन गरी पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
रु एक हजारका विषयमा विवाद हुँदा पतिले घरको भित्तामा टाउको ठोक्काएर पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिनुुभयो ।
ईलाका प्रहरी कार्यालय सालझण्डीले दिएको विवरण
मिति २०७९।०४।११ गते बिहान अं.०९:३० बजेको समयमा जिल्ला रूपन्देही कञ्चन गाउँपालिका वडा नं.१ डेलरमा आफ्नै घरमा श्रीमान र छोरासँग बसोबास गर्दै आइरहेकी वर्ष ३१ की सावित्री थापा क्षेत्री आफ्नै सुत्ने कोठामा मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट अनुसन्धानको लागी प्रहरी टोली खटिई गएकोमा निज मृतकलाई टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्राहरू र कोठामा रगत बगेको र छिटाहरु देखिएको र शरीरका विभिन्न भागमा निलडाम समेत देखिएको मृत शरीर फेला परेकोमा आवश्यक प्रकृया पश्चात लासलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल बुटबल पठाईएको थियो । सो पश्चात निज सावित्रीको हत्या शंकास्पद देखिएको र हत्या भएको हुनसक्ने देखिएकोले आवश्यक अनुसन्धानको लागि मृतकको श्रीमान वर्ष ३३ को यम बहादुर थापा क्षेत्रीलाई अनुसन्धानको लागि तत्कालै निजकै घरबाट नियन्त्रणमा लिइएको, अनुसन्धानको क्रममा अघिल्लो दिन साँझ निज यम बहादुर थापाले मादक पदार्थ सेवन गरी सुतेकोमा निजकी श्रीमती सावित्री थापाले समेत अघिल्लो दिन साँझ दराजमा श्रीमानले राखेको रु.१,००० (रु.एक हजार) लिई रक्सी किनेर खाई रातको समयमा आई मृतक सावित्री थापा भुईँमा, प्रतिवादी यम बहादुर थापा र छोरा खाटमा सुतेकोमा रातको करिब २ बजेको समयमा प्रतिवादी यम बहादुर थापा उठेर पैसा गन्दा एक हजार कम भएपछि निज यम बहादुरले श्रीमतीलाई उठाई पैसा नसोधी लिई गएको भनी कुटपिट गर्ने क्रममा श्रीमतीको कपाल समाई निज आफैँ सुतेको खाटको खुट्टा र भित्तामा टाउको ठोकिदिई श्रीमतीको हत्या गरेको भन्ने खुल्न आएकोले निज यम बहादुर थापा क्षेत्रीलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुर अन्तर्गत म्याद थप गरि थप अनुसन्धान कार्य भैरहेको ।
हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले यमबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा हत्याको रहस्य खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले बुधबार बिहान सावित्री आफ्नै कोठामा टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्रा र कोठामा रगत बगेको र छिटा देखिएको तथा शरीरका विभिन्न भागमा नीलडामसमेत रहेको अवस्थामा फेला पारेको थियो ।
यमबहादुरलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।