म नांगिएको की तिमी भन त बाँके प्रहरी !
तिम्रो चरित्र माथि दाग लाग्दा, तिम्रो इमानमाथि प्रश्न उठ्दा मैले तिमी नांगिएको चाल पाएको छु । तिमी आफू नांगिएको थाहा नभएपनि तिम्रो नग्नताबाट म लज्जित छु ।
के साँच्चै तिमीलाई थाहै छैन तिमी नग्न भएर सडकमा कुदेको ? तिम्रो नग्नताले हामीलाई पनि नांगो बनाएको छ ।
तिमी बुझ्ने प्रयास गर न तिमी मेरो घर आँगन समाजमा हतियार बोकेर हिँड्दा म त्रसित होइन सुरक्षित महसुस गर्दछु । तिमी छौ भनेर त मेरो समाज र घर सुरक्षित छ भन्ने सोच्दै रातको निद्रा आरामको लिन्छु ।
मलाई थाहा छ तिमी मेरो लागि दिन र रात जाग्छौ र त म र मेरो परिवार सुरक्षित छ । तर बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुरमा तिमीबाट केही अवाञ्छित कार्य भएको छ । तिम्रा घाउ भएका केही अंग छन भने उपचार गराउ । तर घाउ नै भएको छैन भन्ने दाबी नगर ।
हिजो सुन्दै छु तिमीले भन्यौ अरे की ईलाका प्रहरी कार्यालयको थुनुवामा रहँदा दुर्व्यवहारबाट पीडित महिला र उनका श्रीमानले बयान फेरे भनेर । होइन बयान फेर्दैमा तिमीले आफूमा लागेको चोटको उपचार नगर्ने हो र ? बयान त त्रासमा पनि त फेर्न सकिन्छ होइन र !
यौन दुर्व्यवहारबाट पीडित महिलाले बयान फेरे पनि तिम्रा सडेका गलेका पात पतिंगर बचाउँदा तिम्रा हरिया फुलेका फूलहरूमा असर नपरोस् । ५ वटै औँला बराबर नभए जस्तै तिमीमा आवद्ध सबै असल नहोलान् तर केही खराब भएकाहरूका कारण तिम्रा असल सन्तानको नाममा दाग लाग्न नदेउ ।
तसर्थ उपचार गराउ सँगै सती नजाऊ बाँके प्रहरी ।
बिहानको अर्ध रातमा २ बजे महिला थुनुवालाई कोठामा लगेर कुन अनुसन्धान हुँदै थियो ? कुन किताबमा साँझ मादकपदार्थ खाएर अनुसन्धान गर्नुपर्छ भनेर लेखेको छ । कुन नियमावलीमा आफू सुत्ने कक्षमा महिला थुनुवालाई लगेर अनुसन्धान गर्न पाइन्छ भनेर लेखेको छ ? के रक्षक नै भक्षक भएको हो त? के कानुनी राज्यमा कानुनको पालना गराउने अधिकारी कानुनभन्दा टाढा धेरै टाढाको भएको हो ?
महिला प्रहरीको रोहबरमा अनुसन्धान १० देखि ५ बजेको कार्यालय समयमा हुनुपर्ने होइन र ? त्यो कस्तो अचम्मको अनुसन्धान रहेछ जुन एक अबला नारीलाई कोठामा लगेर त्रसित बनाउँदै गरिन्छ ।
तसर्थ घटनाको गाम्भीर्यतालाई बुझ्दै उपचार गराउ बाँके प्रहरी । तिमी आफैमा इमानदार छौ भन्ने हामीलाई विश्वास त छ तर त्यो विश्वासलाई कायम राख्न महिलालाई न्याय दिलाएर सही गलत छुट्टाएर निष्पक्षता कायम गरेर आफ्नो साख बचाउ ।
यो पनि
बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई प्रहरीले नै यौन दुर्व्यवहार गरेपछि...
तिमी कुनै एक जनाको पक्कै होइनौ, तिमीमा हजारौँ प्रहरीको स्वाभिमान जोडिएको छ । कृपया ती सबै स्वाभिमानी बाँकेका अन्य प्रहरीको स्वाभिमान एउटा कुहिएको फललाई बचाउन चुर्लुम्मै नदीमा नडुबाउ ।
नेपथ्यबाट चिहाएर हजारौँ आँखाहरु तिम्रो भुमिकालाई निस्पक्षताको कसीमा बाँधेर हेरिरहेका छन । घटनाको प्रारुप र उद्गमका कारणहरु धेरै हुनसक्छन तर अन्त्य न्यायपूर्ण हुनुपर्छ ।
तसर्थ हजारौं प्रहरीको स्वाभिमानलाई चुर्लुम्म डुबाएर एकजनासँग सती नजाऊ बाँके प्रहरी ।
धन्यबाद ।
पत्रकार सन्दिप नाथ योगी नेपाल कागजका सह-सम्पादक तथा लुम्बिनी ब्युरो प्रमुख हुनुहुन्छ ।