नेपालगन्ज । बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा बहुविवाह गरेको अरोपामा थुनामा रहेकी युवतीलाई यौन दुर्व्यवहार गर्ने प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको छ ।
सुरुमा यौन दुर्ववहार भनेतापनी चौलागाईंले बलात्कार नै गरेको भन्दै पीडित युवतीले आरोप लगाए पछि उनलाई पक्राउ गरेर जबर्जस्ति करणी मुद्दा (बलात्कार प्रयास)मा बाँके जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
उहाँले नेपाल कागजसँग भन्नुभयो, "उसलाई हामीले पक्राउ गरेर जबर्जस्ती करणी शिर्षकमा मुद्दा चलाएका छौँ । थप अनुसन्धान कार्य भइरहेको छ । पदबाट निलम्बन गरिसकेका छौँ । थप बिभागीय कार्य पनि हुन्छ ।"
गत साउन ११ गते बहुविवाह गरेको अरोपमा थुनामा रहेकी महिलालाई कोहलपुर इलाका प्रहरी कार्यालयमा हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका मुद्दा फाँटमा कार्यरत असई चौलागाईंले आफनो कोठामा बोलाएर यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको आन्तरिक अनुसन्धानमा खुलेको थियो ।
पीडित महिला र उनका श्रीमानले असई चौलागाईंले आफनो कोठामा बोलाएर यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा गुनासो गरेपछि जिप्रकाले आन्तरिक अनुसन्धान गरेको थियो । जिप्रकाले बलात्कार भएको हो वा होइन भन्ने विषय अँझै खोलेको छैन ।
इलाका प्रहरी कार्यालय, कोहलपुरमा मुद्दा फाँटमा कार्यरत असई चौलागाईंले बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई राति २ बजे आफनो कोठामा बोलाएर बलात्कार प्रयास गर्दै यौन दुर्ववहार गरेको बाँके प्रहरी स्रोतले जानकारी दिएको छ ।
बाँके प्रहरीले असई चौलागाईंलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको एसपी अधिकारीले जानकारी दिनुभयो ।