बर्दियामा प्रहरी हिरासत कक्षबाटै फरार बलात्कार आरोपी खाँ नेपाल भारत सीमाबाट पक्राउ
हरि गुरुङ, अनोज थारू, बर्दिया । ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दियाको हिरासत कक्षबाटै फरार थुनुवालाई बर्दिया प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
बलात्कार आरोपमा पक्राउ परेका २६ वर्षीय अब्दुल खाँ ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दियाबाट गत श्रावण ९ गते करिब १०:५५ बजे हिरासत कक्षबाटै फरार भएका थिए ।
बर्दिया प्रहरीले खाँको व्यापक खोजी कार्य जारी राखेको थियो ।
हिरासतबाटै फरार भएका बाँके जिल्ला खजुरा गाउँपालिका वडा नम्बर ८ बस्ने बलात्कार आरोपी अब्दुल खाँलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) हृदेश कुमार सापकोटाको कमान्डमा खटिएको प्रहरी टोलीले श्रावण २३ गते आज सोमबार करिब १२:१५ मा बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर २ को नेपाल भारत सिमा नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका (प्रवक्ता) प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुबेदीले जानकारी दिनुभयो ।
गत श्रावण ९ गते करिब १०:५५ बजे खाना खुवाउने समयमा ड्युटीमा रहेको सेन्ट्रीलाई झुक्काएर बलात्कार आरोपी खाँ भागेका थिए ।
बाँसगढी नगरपालिकाकी एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा खाँलाई गत असार २३ गते बाँके जिल्लाबाट बर्दिया प्रहरीले पक्राउ गरेको थियो ।
अब्दुल खाँलाई ईलाका प्रहरी कार्यालय मोतिपुरमा राखेर अनुसन्धान कार्य चलिरहेको थियो ।
प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुबेदीका अनुसार बलात्कार आरोपी खाँ हिरासतबाट भागेकाले जबर्जस्ती करणी मुद्दामा थप सजाय हुनसक्ने कानुनी प्रावधान रहेको जानकारी दिनुभयो ।