बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज 'अथक' र बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष एवम् जनता समाजवादी पार्टीका नेता इश्तियाक अहमद शाहबीच नरैनापुरको विकास निर्माणको विषयमा छलफल तथा भेटघाट भएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको भेटमा गाउँपालिका अध्यक्ष शाहले नरैनापुरको सबै वडाहरूलाई मुख्य सडकसँग जोड्नका लागि बजेट व्यवस्था गरिदिन अनुरोध गर्नुभएको छ ।
खेलकुद मन्त्री गहतराज 'अथक'ले गाउँपालिकाको सडक, स्वास्थ्य तथा खेलकुदको लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको कार्यकक्षमा भएको भेटमा गाउँपालिका अध्यक्ष शाहसँग मन्त्री गहतराज 'अथक'ले भन्नुभयो, "नरैनापुर आफैमा बिकट क्षेत्रमा पर्ने भएकाले बजेटको व्यवस्था गरेर नरैनापुरका जनताको लागि सक्दो सहयोग गर्छु ।"
उहाँले थप प्रष्ट पार्दै भन्नुभयो, "नरैनापुरमा यस बर्ष पानी नपरेकाले सुख्खा क्षेत्र घोषणा गर्ने अवस्था सृजना भएको छ । समस्या समाधानका लागि उक्त क्षेत्रमा बोरिङ जडान गर्न लागिएको छ । नरैनापुरका स्कुलमा खेलका लागि बजेटको व्यवस्था गरिएको छ भने डुबानको समस्या समाधानका लागि ठाउँ-ठाउँमा सामुदायिक सेल्टर निर्माणार्थ बजेटको व्यवस्था गरेको छु।"
त्यस्तै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले खेलकुद मन्त्री गहतराज 'अथक' मार्फत तत्काल इलाका प्रशासन कार्यालय संचालनका लागि जनशक्तिको व्यवस्था गर्न गराउन प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीसँग आग्रह गर्नु भएको छ ।
खेलकुद मन्त्री गहतराज 'अथक'ले इलाका प्रशासन कार्यालय नरैनापुरबाट संचालन गर्ने गरी जनशक्ति व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको छ ।
नरैनापुर गाउँपालिका बाँके जिल्लाकै सबै भन्दा बिकट गाउँपालिका भए पनि संघीय सरकाको त्यस तर्फ ध्यान अझै पुग्न नसकेको अवस्था रहेको छ ।
खेलकुद मन्त्री गहतराज 'अथक'को पहलमा नरैनापुरमा अत्याधुनिक रंगशाला निर्माण सुरु भएको छ भने विद्यालय भवन निर्माणका लागि टेण्डर आह्वान गरिसकिएको छ ।
नरैनापुर गाउँपालिका अध्यक्ष शाहले नरैनापुरमा शिक्षा स्वास्थ्य र रोडको निर्माण पश्चात नरैनापुर गाउँपालिका समृद्ध हुने भएकाले उक्त कार्यका लागि तत्काल बजेट व्यवस्था गराइ दिन खेलकुद मन्त्री गहतराज 'अथक'सँग माग गर्नुभएको छ ।