हरि गुरुङ, बर्दिया । पछिल्लो समय बर्दिया प्रहरीले धमाधम लागूऔषध कारोबारीहरूलाई पक्राउ गरिरहेको छ । बर्दिया प्रहरीको टार्गेटमा लागूऔषध (ब्राउन सुगर) कारोबारीहरू पर्दै आएका छन ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको कमाण्ड प्रहरी उपरिक्षक (एसपी) बिरेन्द्र बहादुर शाहीले सम्हाले यता लागूऔषध दुर्व्यसनी भन्दा धेरै लागूऔषध (ब्राउन सुगर) कारोबारी बर्दिया प्रहरीको फन्दामा पर्ने गरेका छन ।
जसको पछिल्लो उदाहरण बर्दिया प्रहरीले चलाएको लागूऔषध कारोबारीविरुद्धको अपरेसन हो ।
बर्दिया प्रहरीले चलाएको लागूऔषधविरुद्धको अपरेसन अन्तर्गतको र्यापिड एक्सनमा बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर -२ फुटाहा नजिकको नेपाल भारत सिमामा रहेको दशगजा स्थित कच्ची बाटोबाट ५ ग्राम १३० मिलिग्राम लागूऔषध (ब्राउन सुगर) सहित बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १५ निवासी मनसुख लाल थारू र सोही ठाउँका अरविन थारू पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरी टोलीले साउन २९ गते साँझ करिब् ७:१५ बजे उनिहरूलाई पक्राउ गरेको हो ।
३ वटा प्लाष्टिकको पुरिया बनाई राखेको ५ ग्राम १३० मिलिग्राम लागूऔषध (ब्राउन सुगर) "खैरो हेरोइन" फेला परेपछि उनिहरूलाई नियन्त्रणमा लिई बर्दिया जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
उनीहरूको साथबाट प्रहरीले लागूऔषध ओसारपसार तथा बेचबिखनमा प्रयोग गरिएको बजाज कम्पनीको एनएस पल्सर मोटरसाइकल र २ वटा मोबाइल बरामद् भएको छ ।