तुलसीपुर । तीन निर्वाचन क्षेत्र रहेको दाङमा आगामी सङ्घ र प्रदेशको निर्वाचनको चर्चा हुन थालेको छ । चिया पसल होस् वा पाटीपौवामा हरेक ठाउँमा अहिले निर्वाचनकै चर्चा छ ।
त्यसमा पनि नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा र नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एउटै क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरेकाले पनि थप चर्चा चुलिएको छ ।
महरा र पोखरेलले दाङ क्षेत्र नं २ बाट निर्वाचन लड्ने तयारी गर्नुभएको छ । यसअघि एमाले र माओवादी केन्द्रबीचको गठबन्धनबाट महराले सोही क्षेत्रबाट विजयी हासिल गर्नुभएको थियो ।
पोखरेल क्षेत्र नं २ को प्रदेशसभा (क)बाट निर्वाचित हुनुभएको थियो । एउटै मोर्चाबाट चुनावी मैदानमा होमिएका उहाँहरूबीच अहिले भने कडा टक्कर हुने देखिएको छ ।
अहिलेको सत्तापक्ष गठबन्धनले पनि महराका लागि दाङ क्षेत्र नं २ माओवादी केन्द्रलाई दिने आकलन गरिएको छ । त्यस्तै शङ्कर पोखरेलले पनि दाङ क्षेत्र नं २ लाई रोज्नुभएको छ ।
कांग्रेसबाट पार्टीका लुम्बिनी प्रदेश समितिका उपसभापति राजु खनाल, कमलकिशोर घिमिरे, खगराज पाण्डे, गोपालराज शर्मा, कमानसिंह भारती, भरत न्यौपानेलगायतले आकाङ्क्षा व्यक्त गर्नुभएको छ ।
एमालेबाट पनि लक्ष्मण आचार्य, बलिभद्र राणा, टोपेन्द्र केसी, गिरीराज केसीले पनि आकाङ्क्षा देखाउनुभएको छ ।
गठबन्धनबाट दाङ २ मा माओवादीले पाएमा दाङ क्षेत्र नं १ मा नेकपा (एकीकृत समाजवादी) र दाङ क्षेत्र नं ३ मा कांग्रेसले दाबी गरेका छन् । क्षेत्र नं १ र ३ दुवैमा एकीकृत समाजवादीका सांसद छन् ।
तीमध्ये क्षेत्र नं १ बाट निर्वाचित एकीकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणी चौधरी सहरी विकासमन्त्री हुनुहुन्छ भने क्षेत्र नं ३ बाट निर्वाचिन एकीकृत समाजवादीकै केन्द्रीय सदस्य हिराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हुनुहुन्छ ।
यी दुई क्षेत्रमध्ये चौधरीका लागि क्षेत्र नंं १ दिने गरी सहमति हुने र क्षेत्र नं ३ कांग्रेसलाई दिने गरी सहमति हुनसक्ने छलफल अघि बढेको छ ।
यदि क्षेत्र नं १ एकीकृत समाजवादीले पाएमा चौधरीमात्रै दाबेदार रहनुभएको छ । त्यहाँ एकीकृत समाजवादीले पाएमा चौधरी पुनः सांसदको उम्मेवार बन्न सक्ने अवस्था रहेको छ । सोही क्षेत्रमा एमालेबाट केन्द्रीय सदस्य तथा सांसद शान्ता चौधरी, गङ्गा चौधरी र रेवतीरमण शर्माको दाबी रहेको छ ।
त्यो क्षेत्रबाट माओवादी केन्द्रबाट हालका लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य इन्द्रजित चौधरीको पनि दाबी छ भने कांग्रेसबाट पूर्वसांसद योगेन्द्र चौधरी, सुशीला चौधरी, दिवङ्गत नेता खुमबहादुर खड्काका छोरा अनुरागले पनि दाबी गर्नुभएको छ ।
त्यस्तै दाङ क्षेत्र नं ३ कांग्रेसले पाएको सन्दर्भमा दीपक गिरी बलियो दावेदार देखिन्छन् । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका गिरी यसअघिको निर्वाचनमा तत्कालीन एमालेका हिराचन्द्र केसीसँग पराजित हुनुभएको थियो ।
एमाले फुटेर एकीकृत समाजवादी भएपछि केसी सोही पार्टीबाट अहिले मन्त्रीसमेत बनिसक्नुभएको छ । यदि पाँचदलीय गठबन्धनबाट कांग्रेसले यो क्षेत्रमा टिकट पाए गिरीले पाउने सम्भावना देखिएको कांग्रेसका महाधिवेशन प्रतिनिधि अरुण लहरेले बताउनुभयो ।
हालका लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरी र पार्टीका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पनि आकाङ्क्षा देखाउनुभएको छ ।
एकीकृत समाजवादीले पहिले आफूले जितेको क्षेत्र भएकाले पनि दाबी गरेको छ । पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सांसद केसीले पार्टीले जहाँ भन्यो, त्यही गर्न तयार रहेपछि आफ्नो क्षेत्रमा दाबी रहने बताउनुभयो ।
“मेरो दाबी रहन्छ, किनकि यो क्षेत्र यसअघि पनि म निर्वाचित क्षेत्र हो”, उहाँले भन्नुभयो, “तर पार्टीले के भन्छ, त्यसमा म तयार छु ।”
एमालेबाट तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डे र निवर्तमान राष्ट्रियसभा सदस्य कोमल वलीले दाबी गर्नुभएको छ ।
एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काका अनुसार उहाँहरु दुवै जनाको आकाङ्क्षा रहेको छ ।