बर्दियामा फेरि बढ्यो जंगली हात्तीको आतंक, स्थानीयको भागाभाग, धानबाली र मकै नष्ट
बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ५ को गाउँ नम्बर १० शक्तिपुरका स्थानीय वासिन्दा केही दिन यता रात परेसंगै जागारम बस्छन ।
उनीहरू मात्र नभएर महिला, बालबालिका तथा बृद्धहरू डरमै रात कटाउन बाध्य छन ।
तस्बिर : जंगली हात्तीले मच्चाएको बितण्डा
राती राती बगाले जंगली हात्तीको बथाननै गाउँ छिर्न लागेपछि स्थानीयहरू साना नानीबाबु तथा दुधे बालकलाई हातमा राखेर संगठित हुँदै जागाराम बस्न बाध्य छन ।
बर्दियाको सदरमुकाम गुलरियाबाट दुरदराजमा रहेको मधुवन नगरपालिका वडा नम्बर ५ को गाउँ नम्बर १० शक्तिपुरमा दिनहुँ जसो गाउँ क्षेत्रमै हात्ती पसेर बितण्डा मच्चाइरहेता पनि बर्दियाको गुलरियामा उच्च पदमा आसीन संबंधित निकायका हाकिम साबहरूलाई भने कुनै वास्ता छैन ।
हात्ती गाउँ पसेर बितण्डा मच्चाउँदा समेत डिभिजन वन कार्यालय बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्जका जवाफदेही पक्षहरू मौन बसेका छन ।
यसरी संबंधित पक्षले मौनता साँधेर बस्दा हिँजो मात्र बगाले जंगली हात्तीको बथानले करिब २ विगाहमा लगाएको धानबाली र मकै खाई कुल्ची नष्ट गरेको अवस्था छ ।
खाता जैविक मार्ग क्षेत्रसँग पर्ने यस भागमा अन्य जंगली जनावरले बालीनाली नोक्सान गरेपनी हात्तीको डर भने थिएन । अहिले भने ३ वर्षपछि बगाले जंगली हातीको झुण्ड गाउँ पसेपछि स्थानीय त्रसित र आक्रांत अवस्थामा छन ।
खाता सब-डिभिजन वन कार्यालय सानोश्री बर्दियाका सहायक वन अधिकृत सन्तोष चौधरीका अनुसार भारतीय सिमाना नजिक रहेको चिरौटे सामुदायिक वनबाट मंगलबार राती १२:०० बजेको समयमा आएको जंगली हात्तीले २० जना किसानको धान र मकै खाई कुल्ची नोक्सान गरेको हो ।
चिरौटे सामुदायिक वनका अध्यक्ष जित लाल पाण्डेका अनुसार फेरि जंगली हात्ती गाउँ पस्न सक्ने डरले अहिले यहाँका स्थानीय बालबालिका हातमा राखि रातभर जागाराम बसिरहेका छन ।
हेर्नुहोस् तस्बिरहरू - तस्बिर क्रेडिट हरि गुरुङ्ग, बर्दिया संवाददाता