नेता रावलको निमन्त्रणामा भारतीय मन्त्री नेपाल भ्रमणमा आउँदै, 'बिबिबि'बारे द्विपक्षीय छलफल हुने
बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली युवा नेता तथा बर्दियाका समाजसेवी विनय रावलको निमन्त्रणामा भारतीय नेता आइतबार भदौ २६ गते एक दिने नेपाल भ्रमणमा आउन लाग्नुभएको छ ।
नेता रावलको निमन्त्रणालाई स्विकार्दै मैत्रीपूर्ण भेटघाट तथा नेपाल भारतको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले भारत उत्तर प्रदेश सरकारका राज्यमन्त्री (स्वतन्त्र प्रभार) धर्मवीर प्रजापति एक दिने नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।
उक्त भ्रमणका क्रममा बर्दियाको विकासका लागि उत्तर प्रदेश सरकारबाट हुनसक्ने र नेपालको तर्फबाट उत्तरप्रदेशलाई गर्न सकिने द्विपक्षीय सहयोगको बारेमा चर्चा गरिने छ ।
नेपाल र भारतबीच खुला सीमा रहेकोमा नेपालको बर्दिया र भारतको उत्तरप्रदेशमा सीमा जोडिएकाले बर्दियाको विकासमा उत्तरप्रदेश सरकारले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने भएकाले नेता रावलले बर्दियाको कृषि, पर्यटन, जैविक विविधता, स्वास्थ्य, शिक्षा र नेपाली व्यापारी विशेष गरि बर्दियाका व्यवसायीहरूले भारतसँग व्यापार गर्दा पाएका समस्या लगायतका विषयलाई सम्बोधन गर्नेगराउनेतर्फ उत्तर प्रदेशका राज्यमन्त्री प्रजापतिको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।
युवा नेता रावलको मैत्रीपूर्ण निमन्त्रणालाई स्विकार्दै नेपाल भ्रमणमा आउन लाग्नुभएका राज्यमन्त्री प्रजापतिलाई नेपाल र भारतका हिन्दुहरूको आस्थाको बिम्बको रुपमा रहेको पशुपतिनाथ मन्दिरको दर्शन स्वयं रावलले आफै गराउने कार्यक्रम रहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट बर्दिया क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गर्नुभएका समाजसेवी रावलले भारत उत्तरप्रदेशका राज्यमन्त्री (स्वतन्त्र प्रभार) धर्मवीर प्रजापतिसँग 'बेटर एण्ड ब्राइटर बर्दिया' ले समेटेको भिजन, अवधारणा र परियोजनाको बारेमा गहन छलफल गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जानकारी दिएको छ ।
भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका राज्यमन्त्री (स्वतन्त्र प्रभार) तथा भारतीय जनता पार्टीका नेता प्रजापति आइतबार भदौ २६ गते युवा नेता रावलसँग भेटघाट तथा छलफल गरेर पशुपतिनाथ दर्शन गर्ने र सोमबार भदौ २७ गते स्वदेश फर्किने कार्यक्रम रहेको बर्दियाका युवा नेता रावलको सचिवालयले जानकारी दिएको छ ।

तस्बिर : करेन्ट लागेर गम्भीर घाइते भई बाँके नेपालगन्जमा उपचाररत बर्दिया मधुवन वडा -७ बस्ने २५ वर्षीय मीन बहादुर नेपालीलाई समाजसेवी रावलका तर्फबाट नगद २० हजार सहयोग प्रदान गरिँदै ।
त्यस्तै युवा नेता रावलले करेन्ट लागेर गम्भीर घाइते भई बाँके नेपालगन्जमा रहेको भेरी अस्पतालको इमर्जेन्सी कक्षमा उपचाररत बर्दिया मधुवन नगरपालिका वडा नम्बर -७ ताराताल ऐलानी बस्ने २५ वर्षीय मीन बहादुर नेपालीलाई नगद २० हजार सहयोग गर्नुभएको छ ।
करेन्ट लागेर गम्भीर अवस्थामा भेरी अस्पतालको आइसीयुमा राखिएको थाहा पाए लगत्तै समाजसेवी तथा रा.प्र.पाका युवा नेता रावलले सामाजिक उत्तरदायित्व बहन गर्दै विपन्न पारिवारिक अवस्था रहेका उपचाररत बिरामी २५ वर्षीय युवा मीन बहादुर नेपालीको परिवारलाई सो रकम सहयोग गर्नुभएको हो ।