बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली युवा नेता तथा बर्दियाका समाजसेवी विनय रावल र नेपाल भ्रमणमा आउनुभएका भारतीय नेता एवं भारत उत्तर प्रदेश सरकारका राज्यमन्त्री (स्वतन्त्र प्रभार) धर्मवीर प्रजापतिबीच भएको भेटवार्तामा बर्दियाको कृषि, पर्यटनको विकास र मानव वन्यजन्तुबीचको द्वन्द न्यूनीकरणमा सहयोग लगायतका विभिन्न विषयवस्तुमा छलफल भएको छ ।
युवा नेता रावलको निमन्त्रणामा मैत्रीपूर्ण भेटघाट तथा नेपाल भारतको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले नेपाल आउनुभएका भारत उत्तर प्रदेश सरकारका राज्यमन्त्री (स्वतन्त्र प्रभार) धर्मवीर प्रजापति र युवा नेता रावलबीच करिब २ घण्टा "वान टु वान" वार्ता भएको थियो ।
युवा नेता रावलले नेपालकागजलाई दिएको जानकारी अनुसार प्रदेश राज्यमन्त्री (स्वतन्त्र प्रभार) प्रजापतिले नेपाल भारतको अधिकांश सिमा उत्तरप्रदेशसंगै जोडिएकाले बर्दियावासीहरूको समस्यालाई समाधान गर्न उत्तरप्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।
युवा नेता रावलले भन्नुभयो, "उत्तरप्रदेशका राज्यमन्त्री (स्वतन्त्र प्रभार) धर्मवीर प्रजापतिले नेपाल-भारतको सिमाना जोडिएको बर्दियालाई समृद्ध भएको हेर्न आफुले चाहेको बताउनुभयो । हाम्रो बर्दियाको विकासको एजेन्डा र बेटर एण्ड ब्राइटर बर्दिया (विकसित र व्यवस्थित बर्दिया)को बारेमा छलफल भएको छ । राज्यमन्त्री ज्युले यो विषय मुख्यमन्त्री योगी आदित्य नाथसँग पनि राख्ने वचन दिनुभएको छ ।"
त्यस्तै राज्यमन्त्री प्रजापतिले मुख्यमन्त्री योगी आदित्य नाथ समक्ष बर्दिया जिल्लाको विकासका लागि गर्न सकिने सहयोगको बारेमा रोडम्याप बनाएर प्रस्ताव प्रस्तुत गर्ने र बर्दियाको विकासमा उत्तरप्रदेश सरकारले सहयोग गर्ने वचन एवं प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
त्यस्तै राज्यमन्त्री प्रजापतिले नेता रावललाई भारतको भ्रमणको निमन्त्रणा समेत दिनुभएको छ । अबको केही दिनमा नेता रावलले भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
समाजसेवी तथा युवा नेता विनय रावल र उत्तर प्रदेश सरकारका राज्यमन्त्री (स्वतन्त्र प्रभार) धर्मवीर प्रजापतिबीच भएको छलफल र निष्कर्षहरू बुँदागत रुपमा:
१.बर्दिया जिल्लामा मानव वन्यजन्तुबीचको द्वन्द न्यूनीकरण गर्न फेन्सिङ वाल (fancing wall) लगाउने ।
२.भुरिगाँउ तेलपानि खडकखण्ड बिस्तारका लागि आर्थिक सहयाेग प्रदान गर्ने ।
३.बर्दियामा कृषिलाई प्रभावकारी तथा आधुनिकीकरण बनाउन मेसिनेरि ओैजार, मल लगायत सहयाेग गर्ने ।
४. भारतमा राेजगारिका लागि गएका नेपाली मजदुर नागरिकहरूका समस्याहरू समाधानमा भारत सरकार अत्यन्तै गम्भीर भएर समाधान गर्ने ।
५.सिमा नाकाहरूमा नेपाली नागरिकहरूलाई सम्मान जनक व्यवहार गर्ने ।
६.नेपाल भारत सिमाना क्षेत्रमा देखिएका सिमा सम्बन्धि बिबिध समस्याहरू दिर्घकालिन रूपमा निराकरण गर्ने ।
७.नेपाल भारत ब्यावसायिक प्रवद्वनमा देखिएका समस्याहरू छलफल गरि समाधान गर्ने ।
८.बर्दियाकाे पर्यटन र विकासमा भारत सरकारका तर्फबाट हुने सहयाेगमा कुनै कमी हुन नदिने ।
९.बर्दियाकाे शिक्षा, स्वास्थ्य लगायतका विषयमा भारत सरकारले गरिरहेकाे सहयाेगमा व्यापक बृद्वि गर्ने ।
१०.सिमा क्षेत्रमा हुने अपराध न्युनिकरणका लागि प्रभावकारी पहल गर्ने ।
११.भारत नेपालकाे मित्रवत सम्बन्धलाई सदैव जिवन्त राख्ने ।