बर्दिया । बर्दियाको मधुवनमा बाघको आक्रमणमा परेका ६१ वर्षीय थारुको घुँडामुनिको खुट्टा मात्र भेटिएको छ ।
मधुवन वडा नम्बर २ अम्बरपुर गाउँ निवासी ६१ वर्षीय झुठारु थारू हिजो आइतबार, भदौ २६ गते भैंसी चराउन कारीब १ बजे वडा नम्बर २ र १ मा पर्ने कुस्मिनिया सामुदायिक वनमा गएपछि लापता हुनुभएको थियो ।
आज सोमबार, भदौ २७ गते कारीब ९ बजेको समयमा सशास्त्र प्रहरी बिओपी भग्रैयाका किरण केसीको नेत्रित्वमा परिचालित सशस्त्र प्रहरी, ईलाका प्रहरी कार्यालय ढोढरीबाट परिचालित प्रहरी टोली, कोठियाघाट प्रहरी चौकीबाट खटिएको टोली, खाता सब डिभिजन बन कार्यालय सानोश्रीका सहायक वन अधिकृत सन्तोस चौधरीको नेत्रित्वमा खटिएको वनको टोली, मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाट, वडा नम्बर १ का वडाअध्यक्ष मीन बहादुर थापा, वडा अध्यक्ष २ का वडा अध्यक्ष आशाराम थारु, खाता समानवय समितिका प्रतिनिधि, पत्रकार लगायत सयौँको संख्यामा रहेका स्थानीय वासीन्दाले खोजी कार्य गरेका थिए ।
ईलाका प्रहरी कार्यालय ढोढरीले दिएको जानकारी अनुसार ६१ वर्षीय झुठारु थारुको शव क्षतविक्षत अवस्थामा भेटिएको छ । उहाँको आन्द्राभुँडीको सानो टुक्रा घुँडा देखि मुनिको खुट्टा, उहाँले प्रयोग गर्नुभएको झोला, रुमाल छाता लाठी चप्पल लगायत उहाँले लगाउनुभएको कपडा भेटिएको छ भने छेउँमै बाघको पञ्जाहरू भेटिएको छ ।
ईलाका प्रहरी कार्यालय ढोढरीले दिएको जानकारी अनुसार अहिले घटनाविवरण र मुचुल्का उठाउने कार्य भइरहेको छ ।