छैटौँ नेपाल भारत समन्वयात्मक बैठक¸ २०७९ का लागि मित्रराष्ट्र भारतको सशस्त्र सीमा बल (SSB) का महानिर्देशक डा. सुजोयलाल थाउसेनज्यूलाई सशस्त्र प्रहरी बल¸ नेपाल प्रधान कार्यालयमा स्वागत गर्नुहुँदै संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल । तस्बिर स्रोत - एपिएफ हेडक्वाटर
काठमाडौं । नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा सुरक्षा बलका सुरक्षा अधिकारीहरूबीच काठमाडौंमा भएको सीमा समन्वय बैठकमा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, अन्तर्देशीय अपराध, लागूऔषध कारोबार तथा साना हातहतियारको बिगबिगी रोक्न एकअर्कालाई सूचना प्रदान गर्नका लागि सूचना संयन्त्र बनाउने सहमति भएको छ ।
नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा सुरक्षा बलबीच काठमाडौंमा भएको सीमा समन्वय बैठकमा भएको सहमति अनुसार सशस्त्र प्रहरीको बाहिनी र भारतको सीमा सुरक्षा बलको कार्टरबीच छिटोछरितो सूचना, अन्तर्देशीय अपराध रोक्न गोप्य सुचना आदानप्रदान, एकअर्कालाई परेको बखत गर्न सकिने अधिकतम सहयोगका लागि समन्वयकारी भूमिका निभाउने गरि सम्पर्क व्यक्ति राख्ने गरि छलफल तथा सहमति भएको नाम नखोल्ने शर्तमा सशस्त्रका एक एआईजीले नेपाल कागजलाई बताउनुभयो ।
काठमाडौँमा भएको उक्त बैठकमा सुरक्षा संवेदनशीलताका बारेमा बृहत छलफल भएको सशस्त्र उच्च स्रोतले नेपाल कागजलाई जानकारी दियो ।
नेपालमा आगामी मंसिर ४ मा हुनलागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई समेत मध्य नजर गर्दै तथा भारतमा आगामी वर्षमा हुने निर्वाचनलाई समेत ध्यानमा राख्दै सुरक्षा गस्तीलाई निरन्तरता दिने, आवश्यक संवेदनशील सीमावर्ती क्षेत्रमा एकीकृत संयुक्त गस्ती गर्ने सहमति समेत भएको बताइएको छ ।
सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बलबीच यस्तो सहमति भएपनि यि सहमतिका दस्ताबेजमा दुबै देशका सरकारले सहमति प्रदान गर्दै लागू गर्ने निर्णय गर्नुपर्ने हुन्छ ।
त्यस्तै उक्त बैठकमा नेपालले भारतबाट लागूऔषध तस्करी हुँदै नेपाल आएकाले भोलिका देश हाँक्ने युवा वर्ग नशाको दलदलमा फस्न गएको, सामाजिक र आपराधिक समस्या जन्माएकाले नियन्त्रण गर्नेतर्फ सहयोग गर्न आग्रह गरेको छ भने भारतीय सुरक्षा अधिकारीहरूले भने नेपाल हुँदै भारत छिर्ने तेस्रो देशका व्यक्तिको विषयमा चासो लिएका थिए
सीमा सुरक्षाको जिम्मेवारी पाएसँगै सशस्त्र प्रहरी बलले सीमामा निगरानी बढाएको अवस्था छ भने अर्थले समयमै बजेट उपयुक्त मात्रामा नदिँदा सशस्त्रले सीमा सुरक्षाको लागि स्थापना गरेका बोर्डर आउट पोस्टमा पूर्वाधार छैनन् । त्यस्ता सामान्य पूर्वाधार समेत नरहेका घर तथा टेन्टमा बसेर सशस्त्र प्रहरीहरूले सीमा क्षेत्रको गस्ती गरिरहेका छन ।