प्रजिअ सुनारद्वारा अनुगमन; बर्दियामा बहुउपयोगी मेस वायर जाली लगाएपछि स्थानीय खुशी
बर्दिया । अन्तर्राष्ट्रिय खाता जैविकमार्गमा भएका मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागी गरिएको क्रियाकलापहरुको प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले अनुगमन गर्नुभएको छ ।
उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षको बिच भागमा पर्ने सानो तर अति संवेदनशिल क्षेत्रको रुपमा अन्तर्राष्ट्रिय खाता जैविक मार्गलाई लिने गरिन्छ ।
सुनारले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्नाका लागि डिभिजन वन कार्यालय बर्दिया र तराई-भुपरिधि कार्यक्रम (TAL) कोहलपुर बाँकेले उपलब्ध गराएको करिब २.९ किलोमीटर सोलार सहित बहुउपयोगि मेस वायर जाली, बिओपी भग्रैया टावर, वन्यजन्तुबाट पीडितका लागि बल्ब, जंगलि हात्ती आउँदा सूचना दिने साइरन लाउडिस्पिकर लगायतका वस्तु तथा उपकरणको अनुगमन र निरिक्षण गर्नुभएको थियो ।
सुनारले सामुदायिक वनका पदाधिकारीसङ्ग भेट गरि सुझाव र निर्देशन दिनुभएको थियो । उहाँले डिभिजन वन कार्यालय बर्दियाको काम देखि आफु निकै खुशि भएको र यस्तो कार्यका लागि सामुदायिक वनले आफ्नो आयश्रोतबाट १०% रकम मर्मत सम्भारका लागि छुट्याउनुपर्ने भन्दै सो कार्यको व्यवस्था गर्न डिभिजन वन कार्यालय बर्दियालाई निर्देशन दिनुभएको छ ।
साना देखी ठुला जनावरहरुलाई बालिनाली नाश गर्नबाट जोगाउन मदत गर्ने बहुउपयोगि मेसवाईर जालि राखिएपछि स्थानीय बासिन्दा खुशी भएका छ्न ।
स्थानीय बासिन्दा मनु थापा भन्नुहुन्छ, "पहिले पहिले हामीले अन्नबालि घर भित्र्याउन पाउँदैन थियौँ, जंगलि जनावर चित्तल, बँदेल, हात्ती-गैँडाहरु आएर बालिनालि खाई सखाप परि दिन्थे र राहत पनि पाइँदैनथ्यो अब भने बहुउपयोगी मेसवाईर जालि भएपछि हामि गाउँका वासिन्दाहरु खुशी र ढुक्क छौ ।"
अर्का स्थानिय वासिन्दा दुखिराम थारु भन्नुहुन्छ, "रातभरि जनावर लखेट्न जागाराम बस्नु पर्थ्यो अब चाँहीँ राम्रो भएको छ ।"
प्रजिअ सुनारले डिभिजन वन कार्यालय बर्दिया र तराई भुपरिधि कार्यक्रमले सम्पादन गरेका मुख्य मुख्य क्रियाकलापहरुको निरीक्षण,अनुगमन गर्नुभएको थियो ।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल वन अधिकृत महेन्द्र राज वाग्ले, सहायक वन अधिकृत दोर्णराज शर्मा, खाता सब-डिभिजन वन कार्यालय सानोश्रीका सहायक वन अधिकृत सन्तोष चौधरी, BOP भग्रैया सशस्त्र प्रहरी निरीक्षक अस्मित मगर र खाता सामुदायिक वन समन्वय समिति मधुबन -३ का अध्यक्ष बलिराम चौधरी लगायत सामुदायिक वनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।