बर्दिया । बर्दियाको बबई कर्णाली नदीमा आएको बाढीका कारण आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले नेपाल कागजलाई दिएको जानकारी अनुसार करिब आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।
लगातारको वर्षाका कारण बबई कर्णाली नदीमा आएको बाढीले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको–८ सय घर डुबानमा परेकोमा उनीहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गर्दै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) हिकमत बहादुर बोहराले जानकारी दिनुभयो ।
बबई कर्णाली नदीमा आएको बाढीले डुबानमा परेकालाई नजिकैका सुरक्षित स्थान जस्तै विद्यालय, सरकारी सुरक्षित आवास गृहमा राखिएको छ । त्यस्तै बर्दियाको बबई भादा नदीको बिहानको मापन अनुसार खतराको तह भन्दा धेरै तल आएको सशस्त्र प्रहरी बल बर्दियाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) जहर सिंह बुढामगरले जानकारी दिनुभयो । उहाँका अनुसार बबई भादा नदीको खतराको तह ६ रहेकोमा बिहान सम्ममा ४ मा आएको जानकारी दिनुभयो ।
त्यस्तै अवरुद्ध भएको गुलरिया नेपालगन्ज सडक खण्ड पुन सुचारु भएको छ भने बर्दियाको बाढी प्रभावित क्षेत्रका जनतालाई सुरक्षित तवरले नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत नेपाली सेनाको सहयोगमा सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
उहाँले बर्दियाका सुरक्षाकर्मीहरूले जनतालाई सुरक्षित गर्न गराउन खेलेको भूमिकाका कारण ठुलो क्षति हुनबाट बचेको बताउनुभयो । त्यस्तै उहाँले नदी र खोलामा पानीको सतह बढ्ने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई नदीमा माछा मार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको बताउनुभयो ।
त्यस्तै गेरुवा कर्णाली नदीको खतराको लेभल १०.०८ भएकामा पछिल्लो जानकारी अनुसार १२ पुगेको बताउनुभयो ।
उहाँले राजापुर क्षेत्रका बासिन्दालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा राखिसकेको र तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई स्थानान्तरणको काम नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गरिरहेको बताउनुभयो ।