बर्दिया । बर्दियाको राजापुर प्रहरीले एक लाख २० हजार बराबरको अवैध पटाका पक्राउ(नियन्त्रणमा ) गरेर नष्ट गरेको छ ।
राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले एक लाख २० हजार बराबरको अवैध पटाका राजापुर नगरपालिका विशाल बजारस्थित कोठा भाडामा लिएर बस्ने मेराजुद्दीन अन्सारीको कोठाबाट बरामद गरेको हो ।
तिहारका लागि ल्याइएको पटाका मेराजुद्दीन अन्सारीले भारतबाट लुकाइछिपाइ ल्याएका थिए । अन्दाजी मूल्य रु एक लाख २० हजार बराबरका १० बोरा विभिन्न प्रकारका पटाका उनकै कोठाबाट बरामद गर्न राजापुर प्रहरी सफल भएको हो ।
ईलाका प्रहरी कार्यालय राजापुर, बर्दियाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटा हुनुहुन्छ । भलाद्मी तथा नेतृत्व क्षमता भएका कमाण्ड एण्ड कन्ट्रोलमा विशेष दखल राख्ने उहाँले ईलाका प्रहरी कार्यालय राजापुरको नेतृत्व अत्यन्तै बिषम परिस्थिति उत्पन्न भएका बखत सम्हाल्नुभएको हो ।
मानव वन्यजन्तु द्वन्द्व उच्च रहेको उक्त क्षेत्रमा प्रकाश सापकोटाले कमाण्ड सम्हाले लगत्तै राजापुरको सुरक्षा स्थितिलाई सुधृढ बनाउँदै लगेका थिए ।
उनकै आदेश/कमाण्डमा परिचालित राजापुर प्रहरीको टोलीले एक लाख २० हजार बराबरको अवैध पटाका नियन्त्रणमा लिएर इलाका प्रशासन कार्यालयका प्रमुख सुनिल दत्त, वडा नं ४ का वडाध्यक्ष विदुर पोख्रेल, राजापुर भन्सार कार्यालयका प्रमुख र त्यहाँस्थित पत्रकारहरूको रोहवरमा अवैध पटाका नष्ट गरिएको छ ।
ईलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रकाश सापकोटाले नेपाल कागजसँग भन्नुभयो, "अपराध हुन भन्दा अघि नै अपराधिक तत्वलाई विशेष निगरानीमा राखेका छौँ, राजापुरको सुरक्षा मेरो जिम्मेवारी हो र जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख बिरेन्द्र बहादुर शाहको रणनीतिक तथा कार्यनीतिक सुझाव र निर्देशन अनुसार हामी राजापुरका जनतालाई सुरक्षीत गर्दै आपराधिक तत्वलाई नियन्त्रणमा लिन कटिबद्ध छौँ ।"