काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका दिन भोट दिन जाँदा मोबाइल, सलाई, लाइटर, क्यामेरालगायत लैजान नपाइने जनाएको छ ।
आयोगले मतदाताहरूलाई मोबाइललगायत सामग्री लिएर मतदान केन्द्रमा नआउन आग्रह गरेको छ । आयोगले निर्वाचन अधिकृतलाई मोबाइललगायत सामग्री लिएर आउन मतदाताले नपाउनेबारे सूचनामार्फत भनेको हो ।
आयोगको सूचनामा ‘मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई सार्वजनिक आह्वान र अनुरोध गर्ने’ भनिएको छ ।
मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारबाही गरिने पनि आयोगले जनाएको छ । सलाई, लाइटर, क्यामरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउन पनि आयोगले मतदान अधिकृतलाई निर्देशन दिएको छ ।
साथै, कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल साथमा लगेर मत संकेत गर्ने स्थानमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिता २०७९ विपरीत कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सुरक्षाकर्मीले कारबाही गर्न पाउनेछन् । आयोगका अनुसार आफ्नो परिचय खुल्ने मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्सलगायत भने बोक्न पाइने छ ।