बर्दिया । "केही गुमाएँ र पो पाएँ, नत्र फुल फुल्ने थिएन,
बिहानीको सुनौलो किरण, खाता क्षेत्रमा झुल्कने थिएन"
रोकिँदैन भो पाइला मेरो, विघ्न बाधा सङ्ग लडी
चिनाउँछु म विश्व सामु खाता क्षेत्र सुन्दर भनी"
यी माथिका पङ्क्तिका रचनाकार हुनुहुन्छ बाघ आक्रमणमा परि आँखा गुमाएका एक संरक्षणप्रेमी भदै थारु । यो नाम सायद हामी सबै सामु अपरिचित पक्कै छैन, यो नाम खाता जैविक मार्ग क्षेत्रमा मात्र नभएर विश्व कै प्राकृतिक वातावरण संरक्षण क्षेत्रमा पनि प्रशंसनीय, प्रेरणादायी र आदरणीय नाम हो ।
एकातिर वन तथा वन्यजन्तु संरक्षणको एक नमुना सामुदायिक वन उपभोक्ता समूह गौरी महिला हो भने अर्कोतिर संरक्षणमा समर्पित नाम भदै थारु जो संरक्षण मैँ बलिदानको भेटी चढाउँदै हुनुहुन्छ । यति मात्रै कहाँ हो र अन्तर्राष्ट्रिय ख्याति कमाएको खाता जैविक मार्गको एक मनोरम ठाउँ पनि हो गौरी सामुदायिक वन जसले जो सुकैको हृदयलाई पनि आफ्नो हरियालीले शीतल हावा दिँदै मनमा शान्ति प्रदान गर्छ । भदै थारुले पाटे बाघको आक्रमणमा परि आफ्नो एउटा आँखा गुमाए पनि पाटे बाघ संरक्षण गर्नुपर्छ भनी संरक्षणका गीतहरू गाउन छाड्नुभएको छैन ।
समयको खेल पनि कस्तो मानिसलाई कति बेला के पर्छ भनेर कसैलाई थाहा हुँदैन । लाग्छ थारुको जीवन परिवर्तनमा पनि यस्तै समयको खेल थियो । किनकि थारुको जीवनमा आश्चर्य लाग्ने अनि असम्भव लाग्ने कुराहरू पनि सम्भव बन्न पुगेका छन् । हामीलाई पत्यार नलाग्न सक्छ कि एउटा कमैया सुकुम्वासी पनि संरक्षणको लागी बलिदान दिन मात्र हैन त्यसैमाथि जीवन नै समर्पित गर्न सक्छ । उहाँको जन्म बुवा स्व. श्री पाल थारु र आमा चुलिया थारुको कोखबाट २०२४ भाद्र २० गते साबिक ढोढरी गाउँ विकास समिति वडा नं.-३ माचड हाल मधुवन नगरपालिका वडा नं.-४ मा भएको हो । बाबुको नाममा एक कठ्ठा जग्गा पनि नभएपछि सानैदेखि पढ्न पाउने उमेरमा पनि विद्यालयको मुख समेत देख्न नपाएका थारु सानैदेखि अरूको घरमा काम गर्न बाध्य हुनु परेको थियो ।
समय जति बितेपनी गरिबीबाट मुक्ति पाउन सक्नुभएन थारुले । कहिले उता कहिले यता गर्दा गर्दै सानै उमेरमा उहाँ २०३० सालदेखि नै कमैया बस्न बाध्य हुनुभयो । थारुले मालिकको कडा आदेश, चर्को घाम, वर्षाको पिडादायक जीवन सहँदै २०५५ सालसम्म कमैया जीवन नै बिताउनु परेको थियो । रातदिन जति मेहनत गरेपनी महाजनको ऋण तिर्न मै कमाई सिद्धिएर जान्थ्यो त्यसमाथि १५ जना परिवारको लागि खान लाउन समस्या, कहिले माड त कहिले कनिकाको भात र चटनी त्यही नै जीवन जिउने एक मात्र सहारा थियो । तर अचम्मको कुरा के थियो भने उहाँले २०५५ सालमा कमैयाबाट मुक्ति पाउनुभयो र लगातार २०६० सालसम्म कहिले ज्याला मजदुरी गर्नुभयो त कहिले भारतमा समेत गई परिवार धान्नुभयो । जब उहाँका भाइहरूले पनि भारत तिर गएर कमाउन थाले त्यसपछि मात्र थारु घरमा बसेर जमिनदारको खेतबारी अधिया खेती गर्न थाल्नुभयो ।
त्यति बेला गौरी महिला सामुदायिक वन उपभोक्ता समूह वैधानिक रूपले दर्ता भएको थिएन, पछि २०६० सालमा जिल्ला वन कार्यालय बर्दियामा वैधानिक रूपमा दर्ता भयो । गौरी महिला सामुदायिक वन दर्ता हुँदा (साबिक ढोढरी गाउँ विकास समिति वडा नं.-९ खाता) हाल मधुवन नगरपालिका वडा नं.-४ खाता गाउँबाट हेर्दा छर्लङ्गै गेरुवा नदी पनि देखिने अवस्था रहेकोमा संरक्षण गर्दै जाँदा सो क्षेत्र हरियालीमा परिणत हुँदै गयो । वनमा खर-खरियाहरू प्रशस्त पाइन थाल्यो र वन पैदावारको लागि टाढा जानुपर्ने समस्या पनि हट्दै गयो ।
झन् खाता सामुदायिक वन समन्वय समितिको कार्यक्रमहरूले सामुदायिक वनहरूमा नयाँ परिवर्तन ल्याइदियो र वन जङ्गल घना हुँदै गए, यसरी त्यस जङ्गलमा बाघ, गैँडा, हात्ती र जरायो आदि जङ्गली जनावरहरूको बास हुन थाल्यो तर दुर्भाग्य भनौँ या नियति गौरी महिला सामुदायिक वन उपभोक्ता समूह बनेपछि २०६० सालको अन्त्यतिर उहाँलाई अध्यक्ष बनाइयो र सामुदायिक वनले खर-खरिया काट्नका लागि प्रवेश खुलायो ।
सोही क्रममा थारु अध्यक्ष भएकाले प्रवेश अनुमति पुर्जी निरीक्षण गर्ने क्रममा थारु पाटे बाघको आक्रमणमा पर्नुभयो, त्यहाँ भएका उपभोक्ताहरू डरले भागे भने, केही उपभोक्ताको सहयोगमा थारुको ज्यान जोगियो तर बाघले भने एउटा बायाँ आँखा खोसिहाल्यो । यसरी थारुले संरक्षण कै दौरान २०६१ पौष २१ गते एउटा आँखा गुमाए ।
यस घटनाले धेरै संरक्षणकर्मीहरूलाई हताहत बनायो र त्यसमाथि उपभोक्ताहरूले गलत सूचना फैलाए । खाता क्षेत्र कै सबै सामुदायिक वनहरू लगायत नेपालको संरक्षण क्षेत्रमा पनि यो सूचना पुगेपछि वन संरक्षणको बेफाइदा यही नै हो भन्ने धारण फैलियो । घटना बारे विभिन्न किसिमका भ्रम फैलिरहेकै क्रममा कसैलाई पनि नसोचेको कुरा भयो, भदै थारु पुन संरक्षणमा फर्किनुभयो र गौरी महिला सामुदायिक वन उपभोक्ता समूह कै अध्यक्ष बनी संरक्षणका कार्य गर्न थाल्नुभयो । यसले झन् उहाँलाई अझ चर्चित बनायो त्यसपछि गाउँ गाउँ सहर-सहरमा उहाँको नाम फैलियो जसले संरक्षणकर्मीहरूलाई थप ऊर्जा प्रदान गर्यो ।
त्यसै गरी अन्तर्राष्ट्रिय स्तरमा पनि थारुको कदर हुन थाल्यो । उहाँ बाघ संरक्षणमा लागेपछि धेरैले सोध्ने प्रश्न थियो कि, "तपाईँलेबाघको आक्रमणबाट एउटा आँखा गुमाउनु भयो ? तपाईंको जीवन बरबाद भयो ? तपाईँको सोच के छ ? के तपाईँलाई बाघ माथि रिस उठेन ? उहाँले एकदमै सहज रूपमा जवाफ दिनुहुन्थ्यो त्यसमा बाघको कुनै दोष छैन, बाघ खर-खरिया काट्ने उपभोक्ताहरूको घेरामा परेपछि आफ्नो ज्यान जोगाउन मलाई आक्रमण गरेको हो, त्यसैले बाघ प्रती मेरो कुनै रिस राग छैन बरु त्यसको जीवन सुरक्षित गर्नु हामी सबैको दायित्व हो । किन कि हामी पूर्ण रूपमा वन र वन्यजन्तु प्रति निर्भर छौँ । जसले आफ्नो अभिन्न अङ्ग आँखा गुमायो त्यही व्यक्ति आज बाघ संरक्षण गर्नुपर्छ भन्दै संरक्षणमा सक्रिय बन्यो ।
त्यही क्रममा सन २००४ मा अब्राहम संरक्षण पुरस्कार गौरी महिला सामुदायिक वन उपभोक्ता समूहले प्राप्त गर्यो र संरक्षणमा लागे बापत उहाँले विभिन्न कदर पत्र र सम्मान स्वरूप पुरस्कार पाउनु भएको छ । जस्तै वन्यजन्तु संरक्षण प्रोत्साहन पुरस्कार २०७२, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग सम्मान पत्र २०७४, डिभिजन वन कार्यालय बर्दिया सम्मान पत्र २०७७ र अन्तर्राष्ट्रिय नारी दिवस २०१४ हरियो वन कार्यक्रमको कदर पत्रबाट सम्मानित हुनुभएको छ ।
चर्चा कमाएको गौरी महिला सामुदायिक वन उपभोक्ता समूह मधुवन नगरपालिका वडा नं-३ बर्दियामा २०६० सालदेखि हालसम्म थारु अध्यक्ष पदमा रही जिम्मेवारी समाल्दै आउनु भएको छ भने खाता सामुदायिक वन समन्वय समिति मधुवन नगरपालिका वडा नं.-३ बर्दियाको १७ वर्षदेखि उपाध्यक्ष पद समाल्दै आउनु भएको छ ।
थारु अझैँ सक्रिय भई संरक्षणमा लाग्नु भएको छ जसको परिमाण स्वरूप पहिले हराएका र नदेखिएका वन्यजन्तुहरू देखिन थालेका छन् । भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष र तराईको सबैभन्दा ठुलो बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने खाता जैविक मार्ग अति सानो तर एकदमै संम्वेदनशिल क्षेत्र हो । गौरी महिला सामुदायिक वन खाता जैविक मार्ग भित्र पर्छ जहाँ थारुको संरक्षण सम्बन्धी गीतहरूले त झन् चराचुरुङ्गीहरूको चिरबिर आवाजलाई साथ दिन थालेको छ । भ्रमण अवलोकनमा आउनेहरू भदै थारुको गीत र चुट्किला सुन्न हुरुक्क हुने गर्दछन् । यसरी नै गौरी महिला सामुदायिक वन उपभोक्ता समूहले जन्माएको छ, एक संरक्षण प्रेमी भदै थारु जो अहिलेसम्म पनि निरन्तर संरक्षणमा लागि रहनुभएको छ ।