देउखुरी । दाङमा सञ्चालन भएका ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकको मन भुलााउने चौतारी बनेका छन् ।
घोराही–१४ का ८१ वर्षका खिमप्रसाद खनाल दैनिक सो केन्द्रमा आउनुहुन्छ । त्यहाँ आफ्नै उमेरका साथी र आफन्तसँग भलाकुसारी, सुखदुख बाँड्न, भजनकीर्तन गर्न, नाच्न गाउन, कथाव्यथा सुन्न, सुनाउन उहाँलाई आनन्द लाग्ने गरेको बताउनुहुन्छ ।
रामायण महाभारतका श्लोेक सुन्दा मनमा आन्नद आउँछ । घरमा बस्दा पट्यार लाग्ने र समय बिताउन गाह्रो भएको थियो । “केन्द्रमा आउन थालेपछि समय बितेको थाहै नहुँदो रहेछ”, उहाँँले भन्नुभयो । घोराही– १७ की सुशीला अधिकारी उमेरले ८३ वसन्त पार गर्नुभयो । उहाँको आजभोलि दिनचर्या फेरिएको छ । घोराही –१५को उत्साहटोलमा रहेको सो केन्द्रमा नगइ उहाँको मन मान्दैन । यहाँ पुगेपछि दुख पीडा भुल्ने गरेको उहाँँ बताउनुहुन्छ ।
आफ्ना कुरा सुनाउने साथीका कुरा सुन्ने नाचगान भजनकीर्तन गरेर दिन बिताउन सजिलो भएको छ । “आफूसँगैका साथीसँग भेट हुन्छ । धेरै वर्षदेखि भेट्न नपाएका साथी र आफन्तीसँग भेट हुन पाँउदा पहिलेको समयको याद आउछ”, उहाँले भन्नुभयो ।
घोराही १५ का ७६ वर्षीय नारायणकुमार शर्मालाई एकदिन पनि केन्द्र छुट्टाउन मन लाग्दैन । “केन्द्रमा पुराना साथी भेट हुन्छन्, आफ्ना दुःखसुख साट्न पाइन्छ, मलाइ त घरमा बस्न मन लाग्दैन”,उहाँँले भन्नुभयो । सेवाकेन्द्र आउन थालेपछि ऊर्जा थपिएको छ । शरीर हलुङगो भएको उहाँले सुनाउनुभयो । “आफूजस्तै साथी भेटिएपछि मन भुल्दो रहेछ, नाचगान गर्दा झनै मज्जा आउँछ”, उहाँको भनाइ छ ।
घोराही १४ को दिवा सेवा केन्द्रका अध्यक्ष चित्रकान्त आचार्यले २०७४ सालमा केन्द्र स्थापना भएको बताउनुभयो । घोराही उपमहानगरपालिका र १४ नम्बर वडा कार्यालयको सहयोगमा हल बनेको छ । वडाले प्रत्येक वर्ष ५० हजार चिया नास्ताको व्यवस्था गरेको छ । घोराही नगरपालिकाले पनि सहयोग गरेको छ । दैनिक २५-३० ज्येष्ठ नागरिक आउनुहुन्छ । यहाँ आउनलाई कसैलाई रोकतोक छैन । जम्मा हुँनासाथै आरती गाउने, त्यसपछि भजन गाउने, गफ गर्ने, नाचगान गर्ने गरेको उहाँले बताउनुभयो । दुई बजे चियाको व्यवस्था छ । खानेपानी, शौचालयको राम्रो व्यवस्था छ ।
आफू समानका साथीसँग भलाकुसारी गर्न पाउँदा उहाँ दङग हुनुहुन्छ । उहाँहरु दिवा सेवामा आएर रमाइलो गर्ने गर्नुहुन्छ । घोराही १५ र १७ वडाका ज्येष्ठ नागरिक एकै स्थानमा जम्मा भएर दिन बिताउन सजिलो भएको छ । घोराही उपमहानगरपालिकाले पाँच लाखमा निर्माण गरेको दिवा सेवा केन्द्रमा दैनिक ४५ देखि ५५ ज्येष्ठ नागरिक भेला हुने गरेको केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम खनालले बताउनुभयो ।
६० वर्ष नाघेका कुनैपनि ज्येष्ठ नागरिक सेवा केन्द्रमा आउन र दिनभर मन भुलाउन सक्नुहुन्छ । उहाँहरुलाई चिया र बिस्कुटको व्यवस्था नगरपालिकाले गरेको छ । तीन वर्षदेखि सञ्चालनमा आएको दिवासेवा केन्द्रमा भजनकीर्तनका लागि मादल, मुरली, खैजडी, मुजुरा जस्ता बाद्यवादनका सामग्री उपलब्ध छन् । ती सामग्री प्रयोग गरेर ज्येष्ठ नागरिक दैनिक भजनकीर्तन नाचगान गर्नुहुन्छ । खनाल अगाडि थप्नुहुन्छ, “यस केन्द्रमा विभिन्न दाताबाट टेलिभिजन र कम्प्युटर सौजन्य गरिएका छन् । विभिन्न किसिमका धार्मिक, ज्ञानयुक्त पुस्तक र दैनिक प्रकाशन हुने पत्रपत्रिका प्रशस्त छन् । धार्मिकग्रन्थको पाठ र प्रवचन कार्यक्रम समय तालिका अनुसार गरिन्छ । बिहान ११ देखि बेलुकी ४ बजेसम्म केन्द्रमा ज्येष्ठ नागरिकले समय बिताउनुहुन्छ ।
उपमानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख मोतीकुमारी विश्वकर्माले १० वटा वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा आएको बताउनुभयो । उहाँँहरुको नगरले नियमित स्वास्थ्यपरीक्षण गर्छ ।