बर्दिया । बढैयाताल गाउँपालिकाले आफ्नो १२औँ गाउँ सभा तथा अधिवेशनबाट केही ऐन र कार्यविधिहरू बहुमतले पारित गरेको छ ।
पुस २६ गते गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको सभा अध्यक्षतामा गाउँ सभा बैठक बसेको थियो ।
गाउँ सभामा लुम्बिनी प्रदेश अन्तर्गतका गाउँ सभा र नगर सभाको कानुनी निर्माण प्रक्रिया सम्बन्धी ऐन २०७५ को उप दफा १३ को १ अनुसार कार्यपालिका सदस्य तथा बढैयाताल वडा नम्बर ५ का वडा अध्यक्ष तुलाराम थारुले शिक्षा ऐन २०७९को विधेयक पेस गर्नु भएको थियो ।
त्यस्तै, कार्यपालिका सदस्य तथा वडा नं ७ का वडा अध्यक्ष राधेश्याम थारुले गाउँपालिकाको विधान समिति गठन सञ्चालन कार्यविधि, कार्यपालिका सदस्य तथा वडा नं १ का वडा अध्यक्ष प्रेम बहादुर थापा क्षेत्रीले गाउँपालिकाको लेखा समिति गठन कार्यविधि, कार्यपालिका सदस्य तथा वडा नं २ का वडा सदस्य देबिसरा रैदासले योजना तथा सुशासन समिति गठन ऐन पेस गर्नु भयो ।
त्यसै गरी कार्यपालिका सदस्य तथा वडा नं ९ का वडा अध्यक्ष वीर बहादुर चौधरीले स्थानीय बरघर ऐन, कार्यपालिका सदस्य तथा वडा नं ६ का वडा अध्यक्ष शुक्रराज सापकोटाले स्थानीय सहकारी ऐन संशोधन कार्यविधि पेस गर्नु भएको थियो । पेस गरिएका सबै ऐन र कार्यविधिहरू बहुमतले पारित भएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक लक्ष्मी कुमारी अधिकारीले न्यायिक समितिको आर्थिक वर्ष २०७७ देखि २०७९ पौष मसान्त सम्मको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । जसमा गाउँपालिकाको न्यायिक समितिमा ६७ वटा उजुरीहरू परेको छ ।
त्यस मध्य अंश विवादमा ५ वटा उजुरी दर्ता, जग्गा किचलोमा १७ वटा उजुरी, घरेलु हिंसा सम्बन्धी ४ वटा उजुरी, वालि नोक्सानीमा ३ वटा उजुरी, कुटपिटमा ६ वटा उजुरी, बाटो निकासीमा २ वटा उजुरी, गालीगलौजमा ५ वटा र सम्बन्ध विच्छेदको २ वटा उजुरी परेका थिए ।
त्यसै गरी लेनदेनमा २० वटा उजुरी, पानी निकासा सम्बन्धी २ वटा उजुरी, अर्काको जग्गामा घर निर्माण सम्बन्धी एउटा गरी जम्मा ६७ वटा उजुरीमा अहिले सम्म ४० वटा उजुरी मिलापत्र गराएर फर्छ्यौट भइसकेको छ भने ३७ वटा उजुरी अझै फर्छ्यौट हुन बाँकी रहेको उप अध्यक्ष अधिकारीले बताउनु भयो ।
बाँकी उजुरी फर्छ्यौट नहुनुको कारण एक पक्ष मात्रै उपस्थित भएकोले फर्छ्यौट नभएको न्यायिक समिति संयोजक अधिकारीले बताउनु भयो । त्यस्तै दुई वटा सम्बन्ध विच्छेद सम्बन्धी उजुरी अदालत पठाइएको उहाँले गाउँ सभामा जानकारी गराउनुभयो ।
गाउँ सभाका सचिव तथा बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले काम गर्ने क्रममा विभिन्न ऐन कानुनहरू बाझिएको कारण काम गर्न निकै समस्या भएकोले त्यसलाई पारिपुर्थी गर्न गाउँ सभाले ल्याएको सबै ऐन र कार्यविधिलाई बहुमतले पारित गरेकोमा सबै उपस्थित गाउँ सभाका सदस्यहरू र कर्मचारीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
१२औँ गाउँ सभा तथा अधिवेशन सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण लाई कार्यक्रमका सभाध्यक्ष हिमालय त्रिपाठीले धन्यवाद दिँदै गाउँ सभा समापन गर्नु भएको थियो ।