कृष्णा गिरी, बसही । यहाँ सम्पन्न पाँचौँ सरावल अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि अभिषेक चर्च, रजहरले जितेको छ । शनिवार सम्पन्न फाइनलमा अभिषेक चर्चले फोर ब्रदर्श एफसी, नवलपरासीलाई टाई ब्रेकरमा ४–२ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।
सरावल–१, स्थित बसही रङ्गशालामा भएको प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । पेनाल्टी शुटआउटमा भने अभिषेक चर्चले नतिजा आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो ।
अभिषेक चर्चका गोलरक्षक अनुप राना फाइनल खेलको म्यान अफ द म्याच चुनिनुभयो । त्यस बापत उहाँले नगद १५ सय र ट्रफी हात पार्नुभयो । विजेता बनेको अभिषेक चर्चले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता फोर ब्रदर्शले नगद १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ अभिषेक चर्चका राज भुसाल सर्वोत्कृष्ट खेलाडी बन्नुभयो । उहाँले पुरस्कार बापत नगद २५ सय र ट्रफी हात पार्नुभयो । उत्कृष्ट गोलरक्षक नेपालगन्ज–११ का प्रदीप भण्डारी चुनिनुभयो भने उत्कृष्ट डिफेन्डर फोर ब्रदर्शका रञ्जित चौधरी घोषित हुनुभयो । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार फोर ब्रदर्श कै फागुराम चौधरीले हात पार्नुभयो । उत्कृष्ट बनेका सबैले जनही २–२ हजार र ट्रफी हात पारे ।
विजयी खेलाडीहरूलाई समापन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बजैनाथ चौधरी, विशिष्ट अतिथि सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी, उपाध्यक्ष बासमती हरिजन, खेल संयोजक उत्तर कुमार थारु लगायतका अतिथिहरूले पुरस्कृत गरेका थिए ।
सरावल गाउँपालिका, नवलपरासीको आयोजना तथा श्री वसन्त यूथ क्लब, सरावल–१, बसही, नवलपरासीको सह–आयोजना र व्यवस्थापनमा गत पौष १६ गतेदेखि सुरु प्रतियोगितामा कुल १५ टोलीहरूले सहभागिता जनाएका थिए ।