रबिन्द्र यादव, नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको त्रिबेणी-महेशपुर भित्रि हुलाकी सडक खण्डमा भारतीय तीर्थयात्री बोकेको बस पल्टिँदा ४५ जना घाइते भएका छन् ।
पाल्हिनन्दन गाउपालिका वडा नं १ रमपुरवा स्थित झरही खोलाको भित्री सडक खण्डमा पवित्र धार्मिक स्थल त्रिबेणीधामबाट माघे कृष्ण औंसीका दिन तिर्थ स्नान गरि महेशपुर भन्सार नाकाबाट फर्किदै गरेको युपी १६ एफटी ७४६६ भारतीय प्लेट नम्बर भएको बसको स्टेरिङ्ग फेल भई आफै अनियन्त्रित भएर बाटोदेखि अन्दाजी १० मिटर तल खोलामा पल्टिँदा भारतीय तीर्थयात्रीहरु घाइते भएका हुन ।
बस पल्टिएको खबर पाउन साथ स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तत्काल पुगेर घाइते भएकाहरुको उद्धार गरि पृथ्वी चन्द्र जिल्ला अस्पताल एम्बुलेन्स मार्फत पुर्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेले बताउनुभयो ।
घाइते मध्ये एकजनाको टाउकामा गम्भीर चोट लागेकाले अवस्था गम्भीर रहेको पाण्डेले जानकारी दिनुभयो ।
बसमा करिब ६०/६५ जना तिर्थयात्री सवार रहेको बताइएको छ । समान्य घाइते भएकालाई गन्तव्यमा पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
अधिकांश घाइते भएका तीर्थयात्री भक्तजन भारत महाराजगन्ज जिल्ला फरेन्दा र गोरखपुर कम्पियरगंजका रहेका छन ।
हरेक बर्ष माघे कृष्ण औंसीका दिन नवलपुर जिल्लाको त्रिवेणीधाममा मेला लाग्ने गर्छ ।
उक्त मेलामा नेपाल लगायत भारतको बिहार र उत्तर प्रदेशको हजारौं श्रदालुभक्तजनहरु स्नान गर्न आउँछन ।