काठमाडौँ । नेपाल प्रहरीले दुई क्रिकेट खेलाडीलाई म्याच फिक्सिङ गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।
नेपाली क्रिकेट टोलीका पूर्वराष्ट्रिय खेलाडी महबुब आलम र अहिलेको राष्ट्रिय टोलीका खेलाडी आदिल अन्सारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नियन्त्रणमा लिएको छ ।
बारा जिल्ला घर भएका अन्सारीलाई सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानबाटै सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
सो मैदानमा जारी मुन्ना साह मेमोरियल अन्तरकलेज क्रिकेट प्रतियोगितामा जानकी उच्च माध्यमिक विद्यालयका तर्फबाट प्रतियोगिता खेल्न मैदान पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएका उनलाई काठमाडौं पठाउने तयारी गरिएको बताइएको छ ।
राजविराज घर भएका पूर्वराष्ट्रिय खेलाडी आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको छ ।
नेपाल टी–२० क्रिकेट लिगमा स्पट र म्याच फिक्सिङको घटना सार्वजनिक भएपछि सिआइबीले अनुसन्धान थालेको थियो ।
लिगका नेपाली कमेन्टेटर सचिन तिमल्सिनाले सामाजिक सञ्जालमार्फत प्रतियोगितामा फिक्सिङ भइरहेको खुलासा गर्नुभएको थियो ।
आफूले क्यानका पदाधिकारीलाई त्यसबारे जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै उहाँले लिगको कमेन्ट्री नै छाड्नु भएको थियो ।
त्यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पनि पत्रकार सम्मेलनमै खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताउनुभएको थियो ।
घटना सार्वजनिक भएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सुरु गरेको थियोे ।