काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले आत्मदाह प्रयासपछि ज्यान गुमाएका प्रेमप्रसाद आचार्यको आत्माको चिर शान्ति र परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ।
उहाँले आज सामाजिक सञ्जाल मार्फत आर्चायले आत्मदाह गर्नुको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको जनाउँदै नयाँ राजनीतिक दल र नेताको रुपमा आफूहरुले आशा जगाउन नसकेको गुनासोसमेत व्यक्त गर्नुभएको छ ।
मंगलबार दिउँसो बानेश्वरमा आफैलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।
अस्पतालको बर्न वार्डका प्रमुख डा. सुरेन्द्र बस्नेतले बुधबार बिहान साढे ५ बजे उपचारका क्रममा आचार्यको मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आचार्यको शरीरको ८० प्रतिशतभन्दा बढी भाग आगोले जलेको थियो ।
फेसबुकमा आत्मवृत्तान्तसहितको सुसाइड नोट लेखेर इलाम पञ्चकन्या–६ का ३६ वर्षीय आचार्यले मंगलबार दिउँसो नयाँबानेश्वरस्थित संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नुभएको थियो । लगत्तै प्रहरीले उहाँलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएको थियो ।
आचार्यले फेसबुकमा आफू उद्योगी/व्यवसायी भएको र व्यापार व्यवसायमा जताततै असफलता बेहोरेको उल्लेख गर्नुभएको छ ।
पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, वैदेशिक रोजगारमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नुपरेका समस्या उल्लेख गर्नुभएको छ । आफू डिप्रेसनमा भएको, तर कसैले पनि आफ्नो कुरा स्वीकार नगरेको समेत लेख्नुभएको छ ।