रोल्पा । रोल्पाका दुई स्थानीय तहबीच देखिँदै आएको सीमा विवाद समाधानको प्रयास थालिएको छ ।
रोल्पा नगरपालिका र माडी गाउँपालिकाबीच खुम्वास क्षेत्रको सीमा विवाद रहँदै आएको छ ।
यसका लागि लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुनमगरको नेतृत्वमा रोल्पा नगर प्रमुख सुरेन्द्र थापा घर्ती र माडीका अध्यक्ष अमरसिंह घर्तीमगरसहितको टोली विवादित क्षेत्रमा पुगेको थियो ।
सीमा क्षेत्रमा पुगेको सर्वपक्षीय टोलीले अविलम्ब सीमा विवाद हल गर्नुपर्ने निश्कर्ष निकालेको थियो ।
रोल्पा –८ जङ्कोट र माडी–५ भावाङले दाबी गर्दै आएको सो क्षेत्रको विवाद समाधान गर्न जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियारको संयोजकत्वमा सात सदस्यीय समितिसमेत गठन गरिएको छ ।
समितिमा रोल्पा नगर उपप्रमुख गीता आचार्य, माडीका उपाध्यक्ष जयपुरी घर्तीमगरसहित दुवै वडाका वडाध्यक्ष र सरोकारवालाहरू सदस्य रहेका छन् ।
समितिले विवादित क्षेत्रको अध्ययन गरी छिटोभन्दा छिटो विवाद समाधान गर्ने रोल्पा नगरपालिकाका उपप्रमुख आचार्यले जानकारी दिनुभयो ।
विवाद समाधान नहुँदा ती क्षेत्रहरू विकासमा पनि पछि पर्ने भएकाले छिटो विवाद समाधान गर्छौँ सीमा विवाद समाधान समितिका सदस्यसमेत रहनुभएकी उपप्रमुख आचार्यले भन्नुभयो ।
धार्मिक क्षेत्र जलजलालाई पनि जिल्लाका तीन स्थानीय तह रोल्पा नगरपालिका, सुनछहरी र थवाङ गाउँपालिकाले आफ्नो दाबी गर्दै आउँदा समय–समयमा विवाद देखिने गरेको छ ।