काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरले थाई एयरले पाइरहेको ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’को नवीकरण गर्ने सम्बन्धमा घुस बार्गेनिङ गरेको अडियो नै सार्वजनिक भएपछि उनी निलम्बनमा परेका छन । उनलाई थाई एयरसँग १० लाख घुस मागेको आरोप लागेको छ ।
घुससम्बन्धी अडियो बाहिरिएपछि पर्यटनमन्त्री सुदन किराँतीले शुक्रबार ठाकुरलाई निलम्बन गर्नुभएको छ । थप छानबिनका लागि मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचारसमेत गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन प्रक्रिया अगाडि बढाएको छ । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले यस विषयमा कानुनअनुसार छानबिन हुने जानकारी दिनुभयो । आरोपित ठाकुरले पनि आफु छानबिनका लागि तयार भएको प्रतिक्रिया दिएका छन् ।
घुस प्रकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्ड ह्यान्डलिङ’सँग सम्बन्धित विषय हो ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानस्थलमा दुई विमान कम्पनीले मात्र ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’को सुविधा पाएका छन् । त्यसमा थाई एयरलाइन्स र एयर इन्डिया छन् ।
बाँकीको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले नै गर्छ । ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’को सुविधा पाएका कम्पनीले आफ्ना जहाजको ग्राउन्ड ह्यान्डलिङसँग सम्बन्धित मर्मतसम्भार, सञ्चालनलगायत काम आफैँ गर्न पाउँछन् । जसअन्तर्गत थाई एयरले आफ्ना विमानका लागि यस्तो काम आफैँ गर्न पाउँछ । थाई स्माइल थाई एयरको भगिनी संस्था हो ।
‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’को सुविधाका लागि कार्यालयबाट लाइसेन्स (अनुमतिपत्र) लिनुपर्छ अथवा वार्षिक रूपमा त्यसको नवीकरण गर्नुपर्छ ।
विमानस्थल कार्यालयका अनुसार थाई एयरले ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’को नवीकरण गरेको छैन । यही नवीकरणका सम्बन्धमा अडियो सार्वजनिक भएको हो ।